Aamsanchar

मेचीनगरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको अवस्था 

Author Image
शुक्रवार, असार ८, २०८०

मेचीनगर । झापाको मेचीनगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाका १५ वटा स्थानीय तहमध्ये मेचीनगर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी रुपमा अघि बढिरहेको रोजगार संयोजक कृपा रेग्मीले बताउनुभयो ।

नगरका कुल १५ वटा वडामध्ये दशवटामा यो कार्यक्रम सञ्चालन भइरहेको छ । वडानम्बर १, २, ३, ४, ५, ६, ७, ८, १२ र १५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७९ जनाले रोजगारी पाएका छन् । हुन् त बेरोजगारको सूचीमा थुप्रै सूचीकृत थिए । छनौटका आधारमा वडानम्बर १, ७ र १५ मा १२÷१२ वडानम्बर २ मा १३ र वडानम्बर ३,४,५, ८ र १२ मा ६÷६ जनाले रोजगार प्राप्त गरेका छन् । नगरपालिकाका १० वटाका वडा अध्यक्षहरु कार्यक्रमलाई उत्कृष्ट र प्रभावकारी बनाउन अहोरात्र खटिनु भएको छ । यो कार्यक्रम मार्फत सरकारले बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षभित्र कम्तीमा पनि एक सय दिनको रोजगारी सुनिश्चित गर्नेछ ।

कम्तीमा ५० दिन बराबरको रोजगारी प्रदान गर्ने योजना अनुरुप उनीहरुले १० वटै वडामा सञ्चालित विभिन्न योजनाहरुसँग सम्बन्धित भएर कार्य गर्दै आएका छन् । वडानम्बर ३,४,५,८ र १२ मा ६÷६ जनालाई एकसय दिन र बाकीलाई ५० दिनको रोजागरी प्रदान गरिएको रोजगार संयोजक रेग्मीले बताउनुभयो । उनीहरुले दैनिक ५ सय ७७ रुपैयाँ ज्याला प्राप्त गर्नेछन् । अधिकाँश कामदार आर्थिक अवस्था ज्यादैं न्यून भएका महिला छन् । यसले सामान्य ज्याला मजदुरी गर्न सक्नेलाई समेटेको छ । यो कार्यक्रमबाट उनीहरु आत्मनिर्भर बन्न सकेका छन् । पुरुष कामदारले यति थोरै ज्यालामा काम नगर्ने भएकाले महिला कामदारको संख्या बढेको हो । कार्यक्रमको प्रावधान र प्रारुपअनुसार सम्पूर्ण प्रक्रिया पु–याएर कार्यक्रम सुरु गरिएकोले कुनै समस्या उत्पन्न नभएको रेग्मीको भनाई छ ।

मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ३८ लाख रुपैयाँ सशर्त अनुदान आएको छ । ३८ लाख रुपैयाँ मध्ये एउटा वडामा साढे ३ लाखदेखि ३ लाख ७५ सम्मको कार्यक्रमका लागि बजेट छुट्याइएको छ । वडाहरुमा विनियोजित रकमबाट बेरोजगार नागरिकहरु रोजगारी बनुन् भन्ने उद्देश्य रहेको नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभयो ।

खेतीपातीको समय भएकोले सिञ्चाईका योजनाहरुमा बढी जोड दिएको सिञ्चाईका अलवा बाटो निर्माण र मर्मत कार्यमा सूचीकृतहरुले कार्य गर्दै आइरहेका छन् । यस कार्यक्रम अन्तर्गत सार्वजनिकस्थलका रुखमा रङगरोगन गर्ने, कुलो सफा गर्ने, झाडी फाँड्ने, खानेपानी पाइपलाईन विस्तार गर्ने, पार्क, विद्यालय, मन्दिर, ताल सरसफाइ गर्ने, गोरेटो बाटो निर्माण गर्ने जस्ता काम भइरहेका छन् ।

सरकारले बेरोजगार युवालाई रोजगारीमा लैजाने लक्ष्यका साथ ल्याएको योजना प्रधानमन्त्री रोजगार कार्यक्रम हो । वैदेशिक रोजगारीमा रहेका नेपाली युवालाई स्वदेशमै केही काम गर्ने र उनीहरुलाई आफ्नै देशमा स्वाबलम्बन बनाउने तयारीका साथ कार्यक्रम अघि बढाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन रोजगारीको क्षेत्रलाई विकास गर्दै स्वदेशमै श्रम गर्ने वातावरण बनाउन यो कार्यक्रम ल्याइएको हो । यो कार्यक्रम कार्यान्वयनमा आएपछि बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य हुने मन्त्रालयको विश्वास छ । बेरोजगारलाई न्यूनतम रोजगारीको प्रत्याभूति दिन तथा सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीको दावी छ ।

सबै वडाहरुले समावेशी रुपमा बजेट पाएपछि आयोजना कार्यान्वयनमा सहज भएको छ । वैदेशिक रोजगारीले सिर्जना गरेको बेथिती र नेपाली समाजले ठूलो सामाजिक मूल्य चुकाउनु परेको सन्दर्भमा स्वदेशमै रोजगारी प्रदान गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुने मजदुर संघ संगठनका प्रमुख प्रतिनिधिहरुको भनाई छ । मेचीनगरमा विसं २०७५ बाट यो कार्यक्रम सुरु भएको रोजगार संयोजक रेग्मीको भनाई छ । नगरभित्र बसोबास गर्ने बेरोजगारको पहिचान गरी उनीहरुलाई रोजगारसँग जोड्ने यो कार्यक्रम पहिले भन्दा निक्कै प्रभावकारी हुँदै गएको उहाँले बताउनुभयो ।

बेरोजगार भएर हातमुख जोर्न नसकेकाहरुले काम पाएसँगै उनीहरुको जीविकोपार्जनमा सहयोग पुगेको यसमा काम गरिरहेका मजदुरहरुको भनाई छ । झापा मेचीनगर—७ की बिन्द्री भुजेलले प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएर काम गर्न थालेको तीनवर्ष भयो । प्यारालाईसेस भएका श्रीमान र नातिनातिना आफै पाल्नुपर्ने जिम्मेवारी ५८ वर्षीया भुजेलकै काँधमा छ । तर, प्रधानमन्त्री रोजगार कार्यक्रमले उहाँलाई राहत मिलेको उहाँ बताउनुहुन्छ । एकमुष्ट रकम आउँदा आफ्नो घरको आवश्यकता पुरा गर्न सहयोग मिलेको उहाँको भनाई छ । सोहि वडाका श्याम दर्जी पनि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएको एकमुष्ट रकमले घर धान्न अथवा वर्ष भरिका लागि अन्न जोड्न सहज भएको सुनाउनु हुन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर