Aamsanchar

झापामा कक्षा १२ भन्दा माथि पढेका तथा सीप सिकेका ३३ जना दृष्टिविहीन बेरोजगार

Author Image
मङ्गलवार, असार १२, २०८०

बिर्तामोड । बेरोजगार समस्याका कारण जिविकोपार्जनमा समस्या भएको झापाका दृष्टिविहीनहरूले दुखेसो गरेका छन् । उनीहरूले जिल्लास्थित सरोकारवाला समक्ष दृष्टिविहीनको बेरोजगार समस्या समाधानका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् ।

मंगलबार जिल्लाको बिर्तामोडमा आयोजित ‘अपाङ्गता भएकाहरूले भोगिरहेका समस्या समाधानमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उनीहरूले आफ्ना समस्याहरू राखेका थिए । हेलन केलरको १४३ औं जन्मजयन्तीको अवसरमा आयोजित अन्तरक्रियामा बेरोजगार समस्या र त्यसबाट उत्पन्न परिस्थिति बारे जिल्लाका विभिन्न स्थानबाट आएका दृष्टिविहीनले आफ्ना समस्या बताएका थिए ।

जिल्लामा करिब ३ सयको संख्यामा दृष्टिविहीन छन् । उनीहरूमध्ये कक्षा १२ भन्दा माथि पढेका तथा सीप सिकेका ५० जना दृष्टिविहीन रहेको नेत्रहीन युवा संघ नेपाल झापाका अध्यक्ष दिलकुमार राजवंशीले जानकारी दिए । उनीहरूमध्ये १७ जनाले मात्र रोजगारी पाएको र ३३ जना शिक्षित दृष्टिविहीन बेरोजगार भएर बस्नु परेको राजवंशीले बताए ।

नेत्रहीन युवा संघ नेपाल र नेत्रहीन संघ झापाको संयुक्त आयोजना तथा संवाद समूह झापाको संयोजनमा भएको कार्यक्रममा दृष्टिविहीनहरूको जिल्लागत अवस्था, भोग्नु परेका समस्या तथा समाधानका विकल्पबारे दिलकुमार राजवंशी र होमनाथ राजवंशीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरूले सडकमा अव्यवस्थित पार्किङ, सडक पेटीमा बिजुलीका पोल तथा ढलमा ढकन नलगाउँदा दृष्टिविहीनहरूलाई हिँडडुल गर्न समस्या भएको बताएका छन् ।

दृष्टिविहीनहरूलाई सार्वजनिक यातायातमा यात्रा गर्न कठिनाइ हुने गरेको तथा बैंकहरूले खाता नखोलिदिने र एटीएम कार्ड समेत नदिने गरेकाले वित्तीय कारोबार गर्न समेत कठिनाइ भएको उनीहरूको भनाई छ । दृष्टिविहीनहरूले अगरबत्ती बनाउने, मुढा बनाउने सीप सिकेको भएपनि उत्पादित सामग्रीले बजार नपाउँदा स्वरोजगार हुन नसकेको उनीहरूले बताए । अन्तरक्रियामा दृष्टिविहीनहरूले सरकारी कार्यालय, निजी विद्यालय, होटल, उद्योग प्रतिष्ठानमा रिसेप्सनिस्ट लगायत काममा दृष्टिविहीनहरूलाई समेत अवसर दिन आग्रह गरेका थिए । उनीहरूले अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा समेत सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।

जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काले दृष्टिविहीनहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणमा सहयोग गर्न सबैलाई आग्रह गरिन । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले लेखन सीप भएका १२ जना दृष्टिविहीनलाई रोजगारीका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नगरपालिकाको न्यायिक समिति र नगरको दश वटै वडा कार्यालयमा एक–एक जनालाई रोजगारी दिने गरी प्रक्रिया अघि बढाउने बताए ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अपांगता भएकाहरूको रोजगारीका लागि सरकारले दिएको ५ प्रतिशत सुविधा उपभोग गर्न दृष्टिविहीनहरूलाई आग्रह गरे । उनले जिल्लास्थित सरकारी कार्यालयहरू अधिकांश अपांगमैत्री नभएपनि अहिले निर्माणाधीन अवस्थामा रहेका भवनहरूमा अपांगमैत्री बनाउने कार्य भइरहेको बताए । यातायात व्यवस्था कार्यालय बिर्तामोडका प्रमुख पदम कट्टेलले अपांगता भएकाहरूको लागि सवारी लाइसेन्स तथा यातायातका साधनमा प्राप्त गर्ने सुविधाका विषयमा जानकारी दिएका थिए ।

अन्तरक्रियामा मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा। रुपक खनाल, अलैंची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराई, उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष प्रकाश सिवाकोटी, प्याब्सन झापाका सचिव हरिकृष्ण पाठक, उद्यमशील महिला संघका अध्यक्ष पार्वता विमली, एबीसी नेपालका अध्यक्ष कञ्चना ढकाल, अधिवक्ता कविता शर्मा बास्तोला, संगीता रौनियारलगायतले दृष्टिविहीन तथा अपांगता भएकाहरूलाई क्षमता र सीपअनुसार अलैंची प्रशोधन लगायत उद्योग प्रतिष्ठानमा रोजगारी दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)