छलफलमा मध्यावधिमा जाने वा नजाने भन्ने विषय पनि उठेको थियो । ‘हामीले मध्यावधिमा जानबाट सकेसम्म रोक्ने, नभए मध्यावधिमा जान पनि तयार हुनुपर्छ भन्ने कुरामा छलफल पनि भयो,’ उनले भनिन् ।
पुस २४ गते एमालेका हिक्मत कार्की नेतृत्वको सरकार गठन हुँदा राप्रपा पनि सरकारमा सहभागी भएको थियो । यसैबीच नयाँ सरकार गठन गर्न कांग्रेस, माओवादी केन्द्र र गठबन्धन दलका नेताहरू काठमाडौँ पुगेका छन् । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठन प्रक्रिया भने भोलिदेखि सुरु हुने अनुमान छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि दलहरूलाई आव्हान गर्न सक्ने सो कार्यालयले जनाएको छ । प्रमुख खापुङ दलहरूसँग र कानुन व्यवसायीसँग संविधानको धारा १६८ को कुन उपधारा अनुसार सरकार गठन गर्ने भन्ने विषयमा परामर्शमै रहेका छन् ।
संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत बनेको कार्की नेतृत्वको सरकार ढलेसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने एमालेले दाबी गर्दै आएको छ । गठबन्धनले बहुमत ४७ सहित सरकार गठनको दाबी गर्दा सभामुखलाई समेत गणना गर्नुपर्ने अवस्था छ ।
उता, विपक्षी गठबन्धन दलहरूले भने संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठनको सम्भावना जीवित रहेको कारण सोही अनुसार सरकार गठन हुनुपर्ने जिकिर गरिरहेका छन् ।
अहिले एमालेसँग रहेको राप्रपा गठबन्धनसँग आए सहज बहुमतसाथ सरकार गठन हुनसक्छ । गठबन्धन दलका कांग्रेससँग २९, माओवादीसँग १३, नेकपा एकीकृत समाजवादीसँग ४ र जसपासँग १ जना सांसद छन् । राप्रपाका ६ सांसद सरकारमा सामेल हुन आए ५३ मतसहितको सरकार गठन हुनसक्छ । एमालेको सांसद सङ्ख्या ४० रहेको छ ।