Aamsanchar

रोयल्टीलाई लिएर रेडियो प्रसारकसँग विवाद चर्किएपछि संगीतकार अधिकारीले मागे माफी

Author Image
शुक्रवार, साउन १२, २०८०


काठमाडौं – रोयल्टीलाई लिएर रेडियो प्रसारकसँग विवाद चर्किएपछि संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले माफी मागेका छन् ।

गत साउन १ गते फेसबुकमा स्टाटस लेख्दै अधिकारीले ‘बिना रोयल्टी स्रष्टाको सम्पत्तिमा लुटमार मच्चाएको’ भन्दै एफएम रेडियोविरुद्ध आक्रामक शब्दसहितको असन्तुष्टि पोखेका थिए । उक्त अभिव्यक्तिको विरोधमा साउन ४ गते संयुक्त वक्तव्य जारी गर्दै तीन रेडियो प्रसारक संस्थाले अधिकारीका सांगीतिक कृति प्रसारण नगर्ने घोषणा गरेका थिए ।विवाद चर्कंदै गर्दा रोयल्टीको पारदर्शितामाथि समेत प्रश्न उठाइएको थियो । अधिकारीले नेपालका रेडियोसम्बद्ध छाता संगठनहरु रेडियो ब्रोडकास्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले संगीत रोयल्टी नबुझाउन एफएम रेडियोहरूलाई उक्साएको भन्दै त्यस्ता रेडियो नवीकरण रोक्नेसम्मको चेतावनी दिएका थिए ।

शुक्रबार भने फेसबुकमा पुनः स्टाटस लेख्दै अधिकारीले क्षमायाचना गरेका हुन् ।

अधिकारी लेख्छन्, ‘ कोही कसै व्यक्ति वा संस्थालाई तोकेर आरोप, लाञ्छना वा आलोचना पनि मैले गरेको छैन । त्यो त एउटा स्रष्टाको रुपमा संगीत रोयल्टीप्रति उहाँहरुको गलत धारणा र कार्य शैलीप्रतिको आक्रोश मात्रै हो । तर त्यस पोष्टले आफूलाई लक्षित गरी एउटा सामाजिक व्यक्तित्वबाट  प्रयोग गरिएको आलोचनाका भाषा अमर्यादित र अशोभनीय रहेको भनी रेडियोसम्बद्ध तीन संस्थाले जनाएको गम्भीर आपत्तिप्रति मेरो गहिरो ध्यानाकर्षण भएको छ । अझ संगीत रोयल्टीप्रति उदार रहनुभएका केही मैले सम्मान गर्ने व्यक्तित्व समेत त्यस आलोचनामा मुछिएको अनुभुति गर्नुभएको कुराले म आफैंलाई पनि दुःखी तुल्याएको छ ।’

अधिकारीले अगाडि लेखेका छन्, ‘आफ्नो पेशागत हकहितको लागि संगठित भएर क्रियाशील रहनु भएका वहाँहरुप्रति व्यक्तिगत रुपमा मेरो सदैव सम्मान,आदर छ र रहिरहने छ । यदि आवेगवश व्यक्तिगत रुपमा प्रस्तुत मेरो शैली र मबाट व्यक्त भएका शब्दले कोही कसैलाई चित्त दुखेको छ वा आफ्नो व्यक्तित्वलाई धमिल्याएको छ भन्ने लाग्छ भने म सम्बन्धित सबैमा विनम्रतापूर्वक क्षमायाचना गर्दछु ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर