Aamsanchar

असारको अन्तिमतिर गरिएको कालोपत्र महिना दिनमै उप्कियाे

Author Image
सोमवार, साउन २९, २०८०

कास्की – पोखरा महानगरपालिका–९ सहारा टोलमा गएको असारको अन्तिमतिर हतारहतार गरिएको कालोपत्र महिना दिनमै उप्किएको छ । पृथ्वी राजमार्गबाट ट्राफिक कार्यालय हुँदै नयाँ बजार निस्कने सडक भत्कन शुरु गरेको हो ।

कालोपत्र उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । स्थानीय बेलकुमारी रानाभाटले कालोपत्र भत्केपछि सवारी र पैदल यात्रुलाई आउजाउ गर्न असहज भएको बताउनुभयो । ‘एक महिना पनि कालोपत्र टिकेन, खाल्डाखुल्डी परेर पानी जमेको छ’, उहाँले भन्नुभयो, ‘यस्तो गुणस्तरहीन काम गर्नेलाई कारबाही गर्नुपर्छ ।’

रानाभाटले कालोपत्रको सतह नमिल्दा वर्षाको पानी घरभित्र छिर्ने गरेको सुनाउनुभयो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको १० लाख रुपैयाँ बजेटबाट ८० मिटर सडक कालोपत्र गरिएको थियो ।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सडक कालोपत्र गर्दा प्राविधिक अनुगमन नपुगेको बताउनुभयो । ‘वर्षाका बेला हतारहतार कालोपत्र गर्दा हुने नै यही हो, असारे विकासको प्रवृत्ति बेठिक छ ।’, उहाँले भन्नुभयो, ‘निर्माणमा लापर्बाही भएको देखिन्छ, यसमा सम्बन्धित मन्त्रालयको ध्यान पुगोस् ।’ उपभोक्ता समिति बनाएर सडक कालोपत्र गरिएको थियो । निर्माणको भुक्तानी पनि भइसकेको छ ।

पूर्वाधार विकास कार्यालय कास्कीका सूचना अधिकारी इन्जिनियर अनुप थापाले वर्षाका कारण कालोपत्र सेट हुन नसकेको बताउनुभयो । ‘निर्माणका क्रममा अनुगमन गर्दा लापर्बाही भएको देखिएको थिएन, यो विषयमा उपभोक्ता समिति र निर्माण व्यवसायीलाई राखेर कुरा गर्छौँ’, उहाँले भन्नुभयो, ‘कमजोरी गरेको भेटिएका कारबाही प्रक्रिया अगाडि बढ्छ ।’

सूचना अधिकारी थापाले वर्षा कम भएपछि सडक मर्मतको काम गरिने बताउनुभयो । उहाँले आर्थिक वर्षको अन्त्यमा हुने विकास निर्माणका काममा गुणस्तरको समस्या देखिने गरेको उल्लेख गर्नुभयो । ‘समय कम हुन्छ, निर्माण व्यवसायीले पनि हतारहतार काम गर्छन्, प्रभावकारी अनुगमन पनि हुँदैन’, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर