Aamsanchar

मेचीनगरमा ‘दिवा खाजा कार्यक्रम’ प्रभावकारी बन्दैं

सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता

Author Image
मङ्गलवार, साउन ३०, २०८०

मेचीनगर : झापाको मेचीनगरका सामुदायिक विद्यालयहरुमा ‘दिवा खाजा कार्यक्रम’ ले विद्यार्थीको आकर्षण बढेको छ । हरेक दिन फरक फरक खाजा खान पाउने भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीहरू नियमित आउन थालेका छन । विद्यालयभित्र जङ्कफूड निषेध गर्ने, पहुँचबाहिरका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयप्रति आकर्षण गर्ने, कक्षा बीचमै छाड्ने प्रवृत्तिको अन्त्य गर्दै अन्ततः सिकाई उपलब्धि वृद्धि गर्ने ‘दिवा खाजा कार्यक्रम’ को मुख्य उद्देश्य हो ।

मेचीनगर नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका मेचीनगर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । सरकारले सामुदायिक विद्यालयमा आकर्षण बढाउँदै विद्यार्थीहरुको पोषणमा सुधार ल्याउने र सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउने लक्ष्यका साथ विद्यालय ‘दिवा खाजा कार्यक्रम’ शुरु गरेको थियो ।मेचीनगरका हरेक सामुदायिक विद्यालयमा विद्यालय ‘दिवा खाजा कार्यक्रम’ प्रभावकारी बन्दै गएको नगर शिक्षा अधिकारी उपसचिव होमनाथ भण्डारीको भनाई छ ।

सरकारले आर्थिक वर्ष २०७९/०८० सम्म प्रारम्भीक बाल बिकाश देखि ६ कक्षासम्मका विद्यार्थीहरुलाई दिवा खाजा दिर्दै आएको थियो । चालु आर्थिक वर्ष २०८०÷०८१ देखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई मात्र दिवा खाजाको व्यवस्था गरेको छ । ‘प्रारम्भीक बाल विकास कक्षादेखि ६ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउन थालिएको थियो चालु आर्थिकवर्षदेखि प्रारम्भीक बाल विकास कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने सरकारले व्यवस्था गरेको छ’ नगर शिक्षा अधिकारी भण्डारीले भन्नुभयो ।

विद्यालयमा नियमित दिवा खाजा दिन थालिएपछि विद्यार्थीको संख्या बढ्नुका साथै विद्यार्थी समेत नियमित रूपमा विद्यालयमा आउन थालेका छन् । कार्यक्रम शुरु भएको छोटो अवधिमा नै दिवा खाजाले मेचीनगरमा विद्यार्थी आकर्षित गर्न सफल भएको उहाँको भनाई छ । नगर शिक्षा शाखाको अभिलेख अनुसार मेचीनगरका ४२ वटा सामुदायिक विद्यालयमा प्रारम्भीक बाल विकास कक्षादेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको संख्या ५ हजार ७ सय ३१ रहेको छ । ‘खाजा नियमित खुवाउन थालेपछि मेचीनगरका ४२ वटा सामुदायिक विद्यालयका प्रारम्भीक बाल विकास कक्षादेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थी संख्या पहिलेको तुलनामा धेरै नै बढेको छ ’ सामाजिक विकास समिति संयोजक हृदय राजवंशीले भन्नुभयो—‘दिवा खाजाका कारण विद्यार्थी निक्कै खुसी पनि छन, विद्यालय सञ्चालन हुने अवधिभर विद्यार्थीहरु बस्न थालेका छन् । यसले गर्दा विद्यालयलाई उत्साही बनाएको छ ।’

विद्यार्थी नियमित हुन थालेपछि पढाइमा पनि सुधार हुन थालेको धुलावारी माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक तेजप्रसाद चौलागाईँको भनाइ छ ।‘ धुलावारी माध्यमिक विद्यालयमा ‘दिवा खाजा कार्यक्रम’ निक्कै प्रभावकारी भएको छ ’ सहायक प्रधानध्यापक चौलागाईँले भन्नुभयो—‘ रकम ज्यादैं न्यून छ, तर पनि खाली पेट विद्यालय आउने विद्यार्थीहरुका लागि कार्यक्रम बरदान बनेको छ । बीचमै विद्यालय छाड्ने विद्यार्थीहरुको संख्या घटेको छ ।’ विद्यालयले दुईजना भान्सेको व्यवस्था समेत गरेको छ । उहाँका अनुसार ५ सय ५० जना विद्यार्थी धुलावारी माविको प्रारम्भीक बाल बिकाश देखि ५ कक्षासम्म अध्ययन गर्दछन् । पौष्टिक आहार र स्थानीय परिकार हरेक विद्यार्थीहरुको प्राथमिकता परेको छ ।

कवि शिरोमणि माध्यमिक विद्यालयमा दिवा खाजाकै कारण विद्यार्थीहरुमा शैक्षिक सुधार सन्तोषजनक पाईएको छ । यसले विद्यालय छाड्नेको संख्या हरेक वर्ष कम हुदैं गएको, नियमित विद्यालय आउने विद्यार्थीको संख्यामा बृद्घि भएको, विद्यालय भर्नादरमा बृद्घिलगायतका सकरात्मक सन्देश प्रवाह गरेको विद्यालयका सहायक प्रधानध्यापक दामोदर ढुङ्गेलको भनाई छ । कवि शिरोमणि माविमा बाल विकासदेखि कक्षा ५ सम्मका १ सय २० देखि १ सय ५० विद्यार्थीले निःशुल्क रुपमा खाजा खान पाउँछन् ।

सहायक प्रधानध्यापक ढुङ्गेलका अनुसार कविशिरोमणि माविको खाजा घरमा हरेक दिन फरक–फरक परिकारहरु पाक्ने गर्छन् । विद्यालयमा दिवा खाजा पाक्न थालेपछि विद्यार्थीहरु नियमित उपस्थित हुनुका साथै बीचमै कक्षा छाड्ने समस्या पनि हटेको उहाँको भनाई छ । विद्यालयको पहुँच बाहिर रहेका र बीचमै कक्षा छाडेर जाने विद्यार्थी पनि ‘दिवा खाजा कार्यक्रम’ का कारण पुनः विद्यालयमा फर्कने क्रम बढ्दै गएको छ । अधिकाँश चिया, कृषि मजदुरका छोराछोरी अध्ययनरत मेचीनगर— १४ को बालसुबोधिनी माविमा ३ सयले जनाले दिवा खाजे खाने गरेका छन् । प्रधानध्यापक विश्व थापाका अनुसार उनीहरुलाई दैनिकरुपमा फरक फरक खाजाको व्यवस्था गरिएको छ । असार १५ मा दहि चिउरा, साउन १५ मा खीर माघ १ गते तीलको मिठाई तरुललगयातका खाजा विद्यालयले दिने गरेको छ ।

‘दिवा खाजा कार्यक्रम’ ले विद्यार्थीहरुको अध्ययनमा क्रियाशिलता बढ्नुका साथै सम्पन्न परिवारका विद्यार्थीले खाएको बेला विपन्न परिवारका विद्यार्थीले हेर्ने अवस्थाको पनि अन्त्य भएको काँकरभिट्टा माध्यमिक विद्यालयका प्रधानध्यापक हरिप्रसाद न्यौपानेको भनाई छ । सबै विद्यार्थीहरुले एकै ठाउँमा बसेर एकै प्रकार र परिकार खान पाउने भएकाले सामाजिक र सामुहिक भावना विकास हुने गरेको छ । ‘दिवा खाजा कार्यक्रम’ उदाहरणीय मात्र होइन पछिललो समय अनिवार्य कार्यक्रमको रुपमा स्थापित भएको उहाँको भनाई छ । ‘दिवा खाजा कार्यक्रम’ लागू भएसँगै कक्षामा नियमित उपस्थित हुने र शिक्षण सिकाई क्रियाकलापमा सहभागी हुने विद्यार्थीको रुची बढ्दै गएको प्रधानध्यापक न्यौपानेको भनाई छ । विद्यालय जाने विद्यार्थी र अभिभावक दुवैलाई खाजाको चिन्ता हुन्थ्यो, बजारमा पाइने खाजा खान सधैं अभिभावकसँग पैसा नहुने समस्याको समेत अन्त्य भएको छ ।

मेचीनगरका हरेक विद्यालयमा साप्ताहिक तालिका बनाएर ‘जङ्कफुड’ प्रतिबन्ध गरी पोषणयुक्त खाजा खुवाउने गरिएको छ । नियमित सामुदायिक विद्यालयमा अनुगमन बढाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख भण्डारीले बताउँनुभयो । ‘दिवा खाजा कार्यक्रम’ ले खाजामा एकरुपता ल्याएको र अभिभावकलाई पनि सहज भएको अभिभावक प्रकाश खत्रीको भनाई छ । ‘नेपालका प्रायःजसो सामुदायिक विद्यालयमा रहेका गरिब तथा विपन्न परिवारका बालबालिकाहरुको लागि शिक्षाको पहुँचमा आउन भोकले नै छेक्ने गरेको तितो यथार्थता थियो ’शिक्षासेवी प्रकाशचन्द्र कार्कीले भन्नुभयो—‘बालबालिकाहरुमा समान आहार तथा पोषणको व्यवस्था गर्न नसक्दा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न धेरै चुनौती थियो ।’

सरकारले सामुदायिक विद्यालयमा १५ रुपैयाँका दरले एक विद्यार्थीलाई बढीमा १ सय ८० दिनका लागि खाजा रकम उपलब्ध गराउँछ । मेचीनगर शिक्षा शाखा प्रमुख एवम् नगर शिक्षा अधिकारी भण्डारीका अनुसार सम्बन्धित कक्षा शिक्षक, प्रधानध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षले गरेको रुजु हाजिरका आधारमा सरकारले रकम निकाशा गर्दछ । रुजु हाजिरका आधारमा सरकारले रकम दिने गरेको छ । खाजा कार्यक्रमले विपन्न परिवारका बालबालिकालाई विद्यालयप्रति आकर्षण पैदा गर्नुका साथै कम्तीमा प्राथमिक तहको शिक्षा पूरा गर्न प्रेरित गर्ने विश्वास छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)