Aamsanchar

अपहरण तथा शरीर बन्धक र मुद्रा सम्बन्धि कसूरका घटनामा कमि, खुला सीमाना प्रहरीलाई मुख्य समस्या

Author Image
बुधवार, साउन ३१, २०८०

मेचीनगर : पछिल्लो समय झापामा अपहरण तथा शरीर बन्धक र मुद्रा सम्बन्धि कसूरका घटना क्रमस कम हुदैं गएका छन् । पछिल्ला दुई आर्थिक वर्ष २०७८/ ०७९ र २०७९/०८० को जिल्ला प्रहरी कार्यालय झापाको अभिलेखले यसलाई पुष्टि गर्दछ । यसलाई प्रहरीले सकरात्मकरुपमा लिने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको अभिलेख अनुसार आर्थिक २०७८/०७९ मा अपहरण तथा शरीर बन्धकका एउटा मुद्घा दर्ता भएको थियो । जुन घटनामा संलग्न ४ जना पुरुषलाई पक्राउ गरेको थियो । २०७९/०८० मा समेत सोहि प्रकृतिको मुद्घा एउटामात्र दर्ता भएको छ । जुन घटनामा संलग्न भएको अभियोगमा एकजना महिला पक्राउ परेकी थिईन् ।

एकजना प्रहरी अधिकृतका अनुसार यसअघि जिल्लामा अपहरण तथा शरीर बन्धकका घटना निक्कै हुन्थे । दुईवर्षयता निक्कै कम भएका छन् । कुनै समय अपहरण र फिरौती असुलीका घटनामा समूह नै लाग्ने गर्दथे । अहिले त्यो देखिँदैन । ‘कतिले त अपहरणको नाटक गरी झुठो निवेदन समेत दिएका घटना प्रहरीसँग सुरक्षित छ ’ एकजना प्रहरी अनुसन्धान अधिकृतले भने—‘आर्थिक कारोवार बिग्रिएएपछि वा अन्य कुनै कारणले आफु अपहरणमा परेको भन्दैं प्रहरीमा उजुरी दर्ता हुने गरेको थियो । अहिले यस्ता उजुरी समेत शुन्य छन् ।’ यस्ता व्यक्तिलाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरेर कारवाही गर्ने गरेको छ ।

जिल्लामा यस्ता घटनामा कमि आउनुको मुख्यः कारण प्रहरीको सक्रियता नै रहेको उनको दाबी छ । कुनै कुनै अपहरणका घटना सामान्य आर्थिक लेनदेन, जग्गा विवाद र प्रतिशोधका कारण हुने भए पनि अधिकाँश घटना फिरौतीका लागि हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरी अधिकारीका अनुसार कतिपय घटनामा परिवारले तत्काल प्रहरीलाई खबर गर्दा फिरौती रकम बुझाउनुपरेको छैन । अपहरण र फिरौती असुलीका अधिकांश घटनामा अपहरणकारीले असुलेको रकम फिर्ता भएको छैन । अपहरणका घटनामा बरामद हुने सम्भावना पनि न्यून हुन्छ ।

‘अपहरण गर्ने र कुनै ठाउँमा बन्धक बनाएर राख्ने अनि फिरौती वापत मोटो रकम ‘डिमाण्ड’ गर्ने घटना कुनै बेला झापामा अत्याधिकरुपमा थियो’ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले भन्नुभयो ।

प्रहरीका अनुसार अपहरणमा परेका व्यक्तिको प्रहरीले तत्काल उद्दार गरेपनि कसैको सूचना समयमै प्राप्त नभएका कारण उद्दारमा समस्या हुने गरेको उहाँको भनाई छ । अपहरणमा संलग्नको पहिचान भए प्रहरीले तत्काल पक्राउ गर्ने गरेको छ भने कति लामो समयसम्म प्रहरी नियन्त्रण बाहिरै हुने गर्छन् । धेरै अपहरणकारीलाई प्रहरीले सवैमा नियन्त्रणमा लिन सफल भएपनि नेपालमा अपराध गरेर भारतका विभिन्न ठाउँमा गएर लुकेर बस्ने गरेका कारण नेपाल प्रहरीलाई उनीहरुको नजीक पुग्न समस्या हुने गरेको छ । अझ नेपालसँग सीमा जोडिएका क्षेत्रमा यस्तो घटना बढी हुन्छ ।

खुला बोडरका कारण पनि अपराधीलाई उम्कन सहज भएको पुलिस अधिकारीहरु बताउँछन् । झापाको १ सय १८ किलो मिटर भूःभाग भारतको पश्चिम बंगाल तथा विहार राज्यसँग जोडिएको छ । अन्तर सीमाको प्रयोग गरेर अपहरण र फिरौती असुलीमा संलग्नको संख्या कुनै समय बढ्दो रहेको अनभुव प्रहरीसँग छ । अपहरणको घटनामा प्रहरीले ‘पोस्ट इन्भेस्टिगेसन’ को नीति अपनाउँछ । हत्या, बलात्कार लगायतको अनुसन्धानमा घटना भइसकेको हुन्छ भने अपहरणमा प्रहरीको सानो गल्तीले अर्को अप्रिय घटना हुनसक्छ । त्यसैले पहिले अपहरितको सकुशल रिहाइ प्रहरीको प्राथमिकतामा पर्ने गरेको प्रहरी अधिकारीको भनाई छ ।

जिल्लामा यसभन्दा अघि भएका अपहरण तथा आपराधिक घटना र अपराधकर्ममा मानवीय सेवाको कार्यमा प्रयोग हुने अत्यावश्यक सेवाको साधन र साना हतियारको प्रयोग समेत हुने गरेको भएपनि यी दुई आर्थिक वर्षको अवधिमा यस्ता साधनको प्रयोग देखिन्र्दैन् । अपहरणकारीले अपहरण गरेका व्यक्तिलाई बन्धक बनाएर राख्न घरहरु भाडामा लिने समेत गरेको यसअघिका घटनाले स्पष्ट देखाएका छन् । तर, पछिल्लो समय यस्तो परिस्थितीको अन्त्य भएको प्रहरीको भनाई छ । उनीहरुले भाडामा लिएका घरमा भने घरधनीहरु नबस्ने, एकान्त, प्रहरीको उपस्थिती कम हुने, हेर्दा सामान्य झै लाग्ने एकान्त ठाउँका घरलाई अपहरणकारीले सुरक्षित स्थलका रुपमा लिने गरेको प्रहरी अधिकारीहरु बताउँछन । कतिले त पोल खुल्ने त्रासले अपहरणपछि हत्या समेत गर्ने गरेका थिए । अपहरणकारीले परिवारका सदस्यलाई नियन्त्रणामा लिएर टेलिफोन लाइन काटिदिने, मोबाइल पनि पानीमा डुबाइदिने र परिवारको सदस्यको अपहरण गर्दथे ।

मुलकी अपराध ‐संहिता- २०७५ ऐन, २०७४ को दफा— २ को परिच्छेद —१७ मा अपहरण वा शरीर बन्धक सम्बन्धि विभिन्न कसूरजन्य कार्यहरुलाई अपराधिकरण गरी कसूर गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ । उक्त परिच्छेदमा उल्लिखित कसूरहरु मध्ये दफा २११, २१२, २१४ र २१५ मा उल्लिखित कसुर गर्ने कसूरदारलाई न्यायिक स्वविवेकमा सजाय निर्धारण गर्नेपर्ने गरी कैद र जरीवानाको माथ्थिलो र तल्लो हदको व्यवस्था गरिएको छ ।

मुद्रा सम्बन्धि कसुरका घटना समेत कम

जिल्लामा मुद्रा सम्बन्धि कसुरका घटना समेत कम हुदैँ गएका छन् । आर्थिक वर्ष २०७८/ ०७९ र २०७९/०८० मा जिल्लामा तीनवटा मात्र छन् । घटनामा संलग्नमा तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा दुईवटा घटनमा संलग्नमा एकमहिलासहित दुईजनालाई पक्राउ गरेको थियो । २०७९/०८० मा यस्तै प्रकृतिको एउटा घटनमा संलग्नमा एकजना पुरुष पक्राउ परेका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर