Aamsanchar

जय श्री हनुमान । राशिफल । ५ भदौ २०८०, मंगलवार

Author Image
सोमवार, भदौ ४, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कलात्मक कार्य (अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो, मनोद्वेग र रिसराग बढ्ने समय भएकाले घरव्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गनुपर्छ, तर्क वा बहसमा विजय प्राप्त हुनेछ । हाकिम वा सेवाग्राहीको रिसको चक्रमा पर्न सकिन्छ, समस्या देखिएमा कलह वा विवादलाई होइन, बुद्धिकौशलको उपयोग गरी मिलनसार बनिदिनु राम्रो हुन्छ । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सन्तान वा भाइबहिनीका लागि केही रकमको व्यवस्था गर्नुपर्ने समय हो, बुद्धि र विवेकले काम नगर्नाले पनि केही व्ययभार बढ्ने सम्भावना देखिन्छ । सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ, तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । सञ्चार माध्यमबाट उत्साहमा प्रेरणा प्राप्त हुने समाचार सुन्न पाइने छ । व्यापार र लेनदेनको कारोबारबाट राम्रै फाइदा हुनेछ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
गलत तरिका अपनाउँदा मौकामा चौका हान्नपाइने र धनलाभ हुने परिस्थिति छ, तर आज कुभावना र अन्याय गर्नबाट जोगिएको जाती हुन्छ । नाफाका दृष्टिले राम्रै समय देखिन्छ, तर वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ, बोली र व्यवहारमा नम्रता अपनाउनु होला । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
निर्णय क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, प्रतिस्पर्द्धामा जीत हुनेछ, विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ । महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ, त्यस्तै परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यान्वयन गर्नुपर्छ । रामरमाइलोमा आकर्षण देखिंदैन, बरु कार्यस्थलमा बोझ बढ्ने सम्भावना छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । मुख चलाएर काम गर्ने पेसाका मानिसहरू जस्तै वकिल, शिक्षक, प्राध्यापक वा प्रवचनकर्ता पण्डित आदिले प्रशस्त लाभ पाउनु हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । शत्रु वा प्रतिद्वन्द्वीको चाकरी गरेर आफ्ना स्वार्थ पूरा गर्नुपर्ने बाध्यता देखिन्छ । आज कारणवश लुक्नुपर्ने वा मोबाइल स्वीचअफ गर्ने परिस्थिति सिर्जना हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर