



गोरखा : प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ।
गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थमा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ र माछा थाप्न प्रयोग गरिएको जालसमेत बरामद गरिएको छ।

दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। जिल्लाभित्र नदी र खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रम बढेपछि प्रहरीले उक्त अवैधानिक कार्यलाई रोकथाम र नियन्त्रणका लागि पहल शुरु गरेको हो।