Aamsanchar

संखुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग ६ दिनदेखि ठप्प

Author Image
बिहिवार, भदौ २१, २०८०

संखुवासभा : संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग ६ दिनदेखि बन्द छ।अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाई भएको भन्दै स्थानीयले अनिश्चितकालीन रुपमा अरुण तेस्रोको विद्युत गृहस्थल र प्रवेशमार्गको सडक बन्द गरेका हुन्।

गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित संघर्ष समितिले  विद्युत गृहस्थल र प्रवेशमार्ग ठप्प पारेका छन्। अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले विभिन्न बहाना बनाउँदै आलटाल गरेकाले आयोजनाको विद्युतगृह स्थल र प्रवेशमार्गको सडक ठप्प ६ दिनदेखि ठप्प पारेको अरुण प्रवेशमार्ग संघर्ष समितिका संयोजक जनीकुमार राईले बताए।

जग्गाधनीलाई मुआब्जाबापतको रकम दिने भनेर निर्धारण भइसकेको मुआब्जा रोकिए पछि बाध्य भएर अनिश्चितकालीन रुपमा आन्दोलनमा उत्रिएको उनको भनाइ छ। जिल्ला प्रशासन कार्यालय संखुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छयाङकुटी–दिदिड सडकखण्डको प्रति रोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो।

तर हालसम्म पनि मुआब्जा नपाएपछि स्थानीयहरू आन्दोलित बनेका हुन्। अरुण तेस्रो विद्युत् आयोजना निर्माण भारतीय कम्पनी सतलजले गरिरहेको छ।मुआब्जापीडित संघर्ष समितिका संयोजक राईका अनुसार माग सम्बोधन नभएसम्म वार्तामा पनि नबस्ने बताए।

खाँदबारी नगरपालिका–४ को छयाङकुटी डाँडाबाट अरुण तेस्रोको कुनै पनि यातायातका साधन आयोजनास्थल जान दिएको छैन। प्रवेशमार्गको चार सय ५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार रुपैयाँ बजेट निकासीका लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो।

अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ। आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौं रुपैयाँ पाउनेछ। आयोजना बनाउन १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीय सहित तीन हजार बढी मजदुर कार्यरत छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर