Aamsanchar

जुम्लाको स्याउ सहारा नेपालमा

Author Image
मङ्गलवार, असोज २, २०८०

चारपाने । जुम्लाको चन्द्रनाथ बहुउद्देश्य सहकारी संस्थाको टोली स्थानीय उत्पादन जुम्लेली स्याउ लिएर झापा आइपुगेको छ ।  उच्च हिमाली क्षेत्रको स्वादिलो र रसिलो स्याउ लिएर दुई दिन अघि सहकारीका कार्यकारी निर्देशक श्रीराम पाण्डेसहितको टोली झापा बिर्तामोड –२ मा रहेको सहारा नेपाल साकोसको मुख्य कार्यालयमा ठुलो परिणाममा स्याउ लिएर आइपुगेको हो ।

चन्द्रनाथले देशमै पहिलो पटक ६ हजार किलो फुजी स्याउ लिएर सहारा नेपाल आइपुगेको हो ।

एक सहकारीले अर्को सहकारीलाई सहयोग गर्नु पर्ने सहकारीको अवधारणा अनुसार सहारा नेपालले चन्द्रनाथ सहकारी मार्फत झापा ल्याइएको स्याउलाई सहाराको कार्यलयमै भण्डार गरेर बिक्री वितरण गर्न सहजीकरण गरे पछि स्थानीहरू स्वदेशी स्याउ किन्न सहारा नेपाल सकोसको कार्यलयमा पुग्न थालेका छन् ।

दुई दिनमा तिन कुन्टल स्याउ सर्वसाधारणले हाताहात खरिद गरिसकेको बताईएको छ । झापाका फलफूल पसलहरूमा मुस्ताङ, जुम्लाको स्याउ प्रति किलो ३ सय ५० देखि माथि मूल्यमा बिक्री भइरहेको अवस्थामा सहारा नेपालमा पुगेर सर्वसाधारणहरूले प्रतिकिलो २ सय ५० मा स्याउ खरिद गर्ने गरेका छन् ।

चन्द्रनाथले आफ्नो सदस्य कृषकहरू मध्ये दुईवटा बगान ठेक्का लिएर जुम्लाको स्याउलाई ब्रान्डिङ र बजारीकरण गर्ने उद्देश्यले जुम्लेली स्याउ झापा ल्याएको  कार्यकारी निर्देशक श्रीराम पाण्डेले बताए । उनले भने ‘बिचौलिया को कारण स्वदेशी स्याउ महँगो हुने गरेकाले विदेशी स्याउ किन्न उपभोक्ताहरू बाध्य हुने गरेका छन् । विचौलिया प्रथालाई निरुत्साहित गर्दै सुलभ मूल्यमा नेपाली उपभोक्तालाई जुम्लेली स्याउको स्वाद चखाउन विभिन्न जिल्लामा स्याउ लिएर जाने योजना रहेको छ ।  पछिल्लो समय यता सहकारीहरू उत्पादनमुखी नभएको आरोप लागिरहेको छ । तर हाम्रो सहकारीले  किसानलाई उत्पादन सँग जोडेर पहिले देखिनै काम गर्दै आएको छ । यस वर्ष अलि ठुलो परिणाममा कृषि उत्पादनलाई बजारीकरण गर्न सुरु गरिएको हो ।’

२०३१ सालमा स्थापना भएको सहकारी पहिले साझाको रुपमा सञ्चालन हुँदै आएको थियो । २०४६ साल पछि देशको राजनीति कारणले साझा बन्द हुन पुग्यो । २०६८ सालमा पुनः पुरानो साझालाई बहुउद्देश्य सहकारीको रुपमा स्थापना गरेर समूह मार्फत लघुवित्त कार्यक्रम गर्दै स्थानीयलाई २०७४ सालदेखि अर्ग्यानिक खेती गर्नतर्फ प्रोत्साह गर्दै आइएको पाण्डेले बताए ।

विगतका वर्षमा सिमी, मार्सी चामल, ओखरलगायतका बस्तुहरू बजारीकरण गर्दै आएको चन्द्रनाथ सहकारीले यस वर्ष देखि स्याउको बजारीकरण सुरु गरेको हो ।  नेपालको उच्च हिमाली क्षेत्रमा उत्पादन हुने स्याउको बजार मूल्य गुणस्तरको आधारमा राम्रो मानिन्छ । नेपालमा खपत हुने स्याउमा ९२ प्रतिशत विदेशी र ८ प्रतिशत मात्र नेपाली स्याउले बजारको हिस्सा ओगटेको तथ्यांक रहेको छ ।

विदेशी खास गरेर भारतीय स्याउको तुलनामा  नेपाली स्याउ धेरै स्वादिलो र अर्ग्यानिक रहेको गुण नियन्त्रक कार्यालयले प्रमाणित नै गरेको छ ।  नेपालमा स्याउको उत्पादन बढ्दै गएपछि विदेशी स्याउको मूल्य भन्दा केही सस्तो मूल्य मै नेपाली स्याउ बजारमा उपलब्ध हुनथालेको छ ।  नेपाली स्याउ माग अनुसारको उत्पादन कम भएकाले विशेष गरि जुम्लाको स्याउ दुर्गमका कारणले देशको सबै जिल्लाहरूमा पुग्न सकेको छैन । जुम्लाको रसिलो स्याउ कर्णाली प्रदेश र काठमाडौं लगायतका देशका ठूला शहरहरूमा मात्र पाइने गरेको छ ।

पूर्वको कोशी प्रदेश भने स्याउ उत्पादनका हिसाबले निक्कै पछाडि छ र यस प्रदेशका उपभोक्ताले नेपाली स्याउ खरिद गर्न नपाईरहेको अवस्था छ ।  विशेष गरि मनाङ, मुस्ताङ र जुम्लाको स्याउ स्वादिलो र रसिलो भएकै कारणले फलफूलका उपभोक्ताहरू बिच नेपाली स्याउको माग धेरै रहेको छ ।

जुम्लामा २१ हजार घरधुरी रहेको छ । हरेक घर परिवारले आफ्नो बारीमा थोरै, धेरै स्याउ खेती अनिवार्य रुपमा गर्ने गरेका छन् । यो वर्ष जुम्लामा २९ मेट्रिकटन ३५ करोड बराबरको स्याउ उत्पादन हुने अनुमान रहेको छ । यस वर्ष असिनाले स्याउको फूलमा क्षति बनाएकाले उत्पादनमा रास आएको, गत वर्ष ५० मेट्रिकटन, हाराहारी ५१ करोडको स्याउ जुम्लाबाट निर्यात भएको पाण्डेले जानकारी दिए ।

२४ हजार ५ सय सदस्य रहेको सहकारीको कार्यक्षेत्र ३८ जिल्ला रहेको छ । तर हाल कर्णाली प्रदेशका ७ जिल्लामा १८ वटा सेवा केन्द्र रहेको छ । सहकारीले दुईवटा मार्ट पनि सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर