Aamsanchar

महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीले पनिकाको गाडी जलाए

Author Image
बुधवार, असोज ३, २०८०

विराटनगर – महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण प्रादेशिक कार्यालय विराटनगरको गाडी जलाएका छन् ।

मानविकी संकायको स्नातक तहका एक विद्यार्थीको उत्तरपुस्तिका परीक्षा गार्डले साटेको भन्दै आज बिहान करिब ५ बजे परीक्षा नियन्त्रण कार्यालयको गाडी जलाएका हुन्।

आन्दोलनरत विद्यार्थीहरुका अनुसार सन्ध्या कायस्थले लेखेको अंग्रेजी विषयको उत्तरपुस्तिका परीक्षाका गार्ड राजन दत्तले आफ्नी छोरीको उत्तर पुस्तिकामा साटेका थिए ।

रिजल्ट आउँदा उनको छोरी पास भएको र कायस्थ भने फेल भएको विद्यार्थीको आरोप छ ।

उत्तरपुस्तिका साटेको विषय क्याम्पस प्रशासनलाई जानकारी गराए पनि पीडित विद्यार्थीको रिजल्ट सच्चिएको थिएन् । नियमित उत्तीर्ण भएको सर्टिफिकेट दिने आश्वासन दिँदै क्याम्पस प्रशासनले दिँदै पुनःपरीक्षा लिएको थियो । तर उक्त रिजल्ट आएको छैन् ।

२०७८ मंसिरमा भएको पहिलो वर्षको अंग्रेजी विषयको परीक्षामा ६०००३००८२ सिम्बल नम्बर भएकी सन्ध्याले चार पेज भएको उत्तर पुस्तिका थप गरेकी थिइन् । तर, उनले थप गरेको उत्तरपुस्तिका गार्डले आफ्नो छोरीकोमा देखाएको विद्यार्थीहरुको आरोप छ ।

सोही विषयमा असोज २ गते डिग्री क्याम्पस विराटनगरमा सन्ध्या कायस्थको रिजल्टको बिषयमा महेन्द्र मोरङ क्याम्पस प्रमुख बाबुराम तिमल्सिना र त्रिविका सहायक परीक्षा नियन्त्रक डिल्ली प्रसाईसहित छलफल भएको थियो ।

समस्या सामधान नभएपछि विद्यार्थीले दुई जनालाई अफिस कोठामा थुनेका थिए । त्यसपछि भएको छलफल बिना निष्कर्ष टुंगिएपछि राति करिब १ बजे क्याम्पस प्रमुख तिम्सिना र प्रसाईंलाई प्रहरीले उद्धार गरेको थियो ।

त्यसपछि आक्रोशित विद्यार्थीले राति नै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरे । राति महेन्द्र मोरङ क्याम्पस अगाडि टायर बालेर विरोध गरेका विद्यार्थीले आज बिहान ५ बजे डिग्री क्याम्पस परीसरमा पर्किङ गरी राखेको बा.१७च.८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रकको गाडीमा आगो लगाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर