Aamsanchar

ओलाङचुङगोला र याङमाका नागरिकलाई सीमा परिचय पत्र वितरण गरिने, प्रजिअको टोली गोलामा

Author Image
शुक्रवार, असोज ५, २०८०

ताप्लेजुङ – फक्ताङलुङ गाउापालीका–७ ओलाङचुङगोला र याङमाका नागरिकलाई सीमा परिचय पत्र वितरण गरिने भएको छ । सीमा वारपार अर्थात् चीन जाने प्रयोजनार्थ प्रयोग गरिने परिचय पत्र वितरणका लागि प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ नेतृत्वको टोली ओलाङ्चुङगोला पुगेको छ ।

ओलाङ्चुङगोलाका नागरिकलाई शुक्रबार परिचय पत्र वितरण गर्ने चेम्जोङले बताइन् । जिल्लाका सुरक्षा निकायमा प्रमुखहरु प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक लगायतको टोली नेपाल–चिन सिमाना टिप्ताला भञ्ज्याङसम्म पुगेर फर्कने चेम्जोङले जानकारी दिइन् ।
‘हामी सीमा क्षेत्रको अवलोकन पनि गरेर फर्कने तयारीमा छौं,’ उनले भनिन् । ओलाङ्चुङबाट सिमानासम्म पुग्न २४ किलोमिटर दुरी रहेको छ । सीमा क्षेत्रको अवलोकन तथा परिचय पत्र वितरण व्यवस्थापनका लागि गाउँपालिका अध्यक्ष राजन लिम्बू मंगलबार नै ओलाङ्चुङगोला पुगेका छन् ।

चीनको वुहानमा कोरोना संक्रमण देखिएदेखि नेपाल–चीन नाका बन्द रहेको छ । तिब्बत प्रशासनका अधिकारी स्वयंले गत भाद्र २४ गतेदेखि खुला गर्ने प्रस्ताव फक्ताङलुङ गाउँपालिकाका स्थानीय जनप्रतिनिधि समक्ष गरेको थियो । उसले सीमा वारपारका लागि सीमा परिचय पत्रचाहिँ अनिवार्य भनेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामा बताउँछन् । सिमानादेखि २५ किलोमिटर भित्रका नागरिकले एकअर्को देशमा आउजाउ गर्न पाउने प्रावधानका लागि यो परिचय पत्र प्रशासनले उपलब्ध गराउन लागेको जनाएको छ ।तिब्बत प्रशासनले सीमा परिचयपत्र खोजेपछि वडा कार्यालय र गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेका थिए । वडा सदस्य टासी शेर्पाका अनुसार ओलाङ्चुङगोलाका हरेक नागरिक पास फोटोसहित तयारीमा बसेका छन् । प्रमुख जिल्ला अधिकारीको टोली टिप्ताला भञ्ज्याङ पुगेर फर्किएपछि याङमाका नागरिकलाई वितरण गरिने गाउँपालिका अध्यक्ष राजन लिम्बू बताउँछन् । याङमाबाट ओलाङ्चुङ गोला पुग्न पूरै एक दिन लाग्छ । नियमित सञ्चार सम्पर्क नहुने उक्त स्थानका नागरिकलाई खबर भने गरेको शेर्पाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर