Aamsanchar

चार वर्षकी पुष्पा र तीन वर्षकी अञ्जलीलाई कोसी टप्पुमा राखिने

Author Image
शनिवार, असोज ६, २०८०

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट चार वर्षकी पुष्पा र तीन वर्षकी अञ्जली नाम गरेको एकसिंगे गैंडालाई कोसी टप्पु वन्यजन्तु आरक्षण लगिने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पुष्पा र अञ्जली असोज १० गते कोसी टप्पु पुग्दैछन्। हालसम्मको तथ्यांकअनुसार कोसी टप्पुमा एकसिंगे गैंडा छैनन्। उनीहरूलाई पहिलोपटक स्थानान्तरण गर्न लागिएको हो।

विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यका अनुसार दुई वर्ष पहिला नै एउटा प्राविधिक समितिले कोसीमा गैंडा राख्ने विषयमा अध्ययन गरेको थियो। उक्त अध्ययनले कोसी टप्पु वन्यजन्तु आरक्षणमा गैंडाका लागि उपयुक्त बासस्थान भएको निष्कर्ष निकालेकोे थियो। आचार्यले भने ‘दुई वर्ष पहिला नै कोसी टप्पुमा गैंडाको बासस्थानका लागि सुहाउँदो वातावरण भएको निष्कर्ष निकालेपछि एकजोडी गैंडा स्थानान्तरण गर्न लागिएको हो।’

गर्मी ठाउँ पनि गैंडाको बासस्थान हुन्छ। स्वच्छ पानी, हिलो खेल्नलाई आहाल र घाँस बढी भएको ठाउँ गैंडाको बासस्थान हुन्छ। नेपालमा विगतमा पनि गैंडा स्थानान्तरण भएका छन्। आचार्यका अनुसार शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा स्थानान्तरण भइसकेका छन्। कोसी टप्पु वन्यजन्तु आरक्ष अर्ना धेरै पाइने ठाउँका रूपमा परिचित छ। तर, अर्नासँगै गैंडा र हात्तीको बासस्थान उपयुक्त हुने उनी बताउँछन्। तर, कोसी टप्पुमा अर्ना भए पनि गैंडा थिएनन्। त्यसैले पुष्पा र अञ्जलीजस्ता उद्धार गरिएकाहरूलाई त्यस्ता ठाउँमा लैजान लागिएको हो ।

आचार्यका अनुसार विपद्का घटनालगायत विभिन्न कारणले माउबाट बच्चाहरू छुटेका हुन्छन्। त्यस्ता बिचल्लीमा परेकाहरूको उद्धार गरिन्छ। माउबाट छुटेका पुष्पा र अञ्जली पनि टुहुरा बच्चा हुन्। यस्ता बच्चाहरूको उद्धारपछि इन्सेन्टिभ केयर ९गहन हेरविचार० मा हुर्काउने गरिन्छ। पुष्पा र अञ्जली परिपक्व भई नसकेकाले स्थानान्तरणपछि पनि इन्सेन्टिभ केयरमै राखिने आचार्यले बताए। ‘तुरुन्त लगेर प्राकृतिक बासस्थानमा छोडिँदैन। तर, त्यहाँको वातावरणमा हुर्कन मौका दिनका लागि लैजान लागेको हो’ उनले थपे, ‘उनीहरू त्यहाँको वातावरणमा घुलमिल भइसकेपछि मात्रै प्राकृतिक वातावरणमा छोडिनेछ।’ त्यहाँको वातावरणमा अनुकूलन भइसकेपछि उनीहरूलाई प्राकृतिक वातावरणमा छोड्ने र भाले पोथी मिलाइनेछ।

पुष्पा र अञ्जलीबाहेक अन्य तीनवटा बच्चाहरू पनि चितवन राष्ट्रिय निकुञ्जमा गहन केयरमा हुर्किंदैछन्। गैंडाका बच्चा दुई वर्षसम्म माउँसँग बस्छन्। तीन, चार वर्षपछि उनीहरू परिपक्व हुन्छन्। र, स्वतन्त्र हुन्छन्। चारदेखि पाँच वर्षपछि सन्तान जन्माउन सक्षम हुन्छन्। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकारी, दिलबहादुर पुर्जा पुनका अनुसार गैंडा स्थानान्तरणका फाइदा छन्। यिनीहरूको एक ठाउँमा मात्र नभएर अर्को ठाउँमा जनसंख्या ९सब पपुलेसन० बढ्छ। ‘कुनै बेला महामारी वा प्राकृतिक विपद्का घटना भएमा एक ठाउँमा गैंडाहरू मासिए पनि अर्को ठाउँका बचाउन सकिन्छ’, उनले थपे त्यसैगरी ‘गैंडा दुर्लभ जनावर भएकाले आन्तरिक तथा बाह्य पर्यटकीय हिसाबले पनि गैंडाको उपस्थिति महत्वपूर्ण हुन्छ।’
पुनले पनि कोसी टप्पुमा गैंडा पठाउने निर्णय प्राविधिक टोलीको अध्ययनपछि सिफारिस भएको बताए। ‘अहिले दुई पोथी जाने हो। तर, उनीहरू परिपक्व भएपछि (चार वर्ष पूरा भइसकेपछि) लैंगिक रेसियो हेरिन्छ। भाले पठाइन्छ।’ एकसिंगे गैंडा चोरी सिकारको मुख्य चुनौती बनेको छ। दुई वर्षपछि बच्चाहरूको खाग पलाउन सुरु हुन्छ। तर, तस्करहरूको तारो परिपक्व गैंडा हुन्छन्।

सरकारले चोरी सिकारविरुद्ध शून्य पोचिङको अवधारणा ल्याएको थियो। विगतमा एक हजार दिनसम्म शून्य पोचिङ मनाउन सफल भयो । त्यसपछि गतवर्ष विद्युतीय पासोमा पारेर एउटा माउ र बच्चा गैंडा तस्करले मारेका थिए। त्यसपछि फेरि शून्य पोचिङ मनाउने क्रममा ५ सय ४२ दिनपछि गैंडाको हाडखोर भेटिएको पुनले जनाए। उनका अनुसार भदौको १३÷१४ गते गैंडाको हाडखोर भेटिएकाले सम्भावित चोरी सिकार हुन सक्ने आशंका गरिएको बताए।

उक्त गैंडाको खुर मात्रै भेटिएको थियो, खाग थिएन। त्यसैले पनि चोरीसिकार भएको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको बताए। पुनले भने ‘कहिले घटेको घटना हो भन्ने विषयमा जाँच पनि भएको छैन। अहिले फेला पर्यो।’

चोरी सिकारविरुद्ध जति चनाखो भएर संरक्षणमा खटिए पनि शून्य बनाउन गाह्रो भएको पुनले बताए। उनका अनुसार सेनाले चितवन राष्ट्रिय निकुञ्जको ६७ ठाउँमा सुरक्षा दिन्छ। निगरानीमा जिल्ला वन, समुदाय, संरक्षण साझेदारलगायत छन् तर पनि संरक्षण चुनौती बनेको छ। नेपालमा हाल ७ सय ५२ वटा एकसिंगे गैंडा छन्। त्यसमध्ये ६ सय ९४ वटा चितवनमा छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर