Aamsanchar

देशमै पहिलो पटक झापामा पालिका प्रमुखहरूको सञ्जाल गठन, भनछन ‘झापालाई देशकै नमुना जिल्ला बनाउने दिवा सपना देखेका छौं ’

Author Image
आइतवार, असोज २१, २०८०

कनकाई ।  नेपालमै पहिलो पटक झापामा स्थानीय तहका प्रमुखहरू सङ्गठित हुने भएका छन् । झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका प्रमुख र अध्यक्षहरू सङ्गठित हुने भएका हुन ।

आज कनकाई नगरपालिकाको आतिथ्यमा नगरप्रमुख राजेन्द्र कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहका प्रमुखहरू सङ्गठित हुनुपर्ने कारण र औचित्य माथि छलफल भएको थियो ।
बैठकमा कनकाई नगरप्रमुख पोखरेलले मेयरहरूको अन्तराष्ट्रिय सम्मेलनले हामीलाई सङ्गठित हुन सिकाएको छ, कोरिया भ्रमणमा देखेको बुझेको कुरालाई झापा जिल्लाका सबै पालिकाहरूको सहभागितामा रचनात्मक कार्यहरू गर्न सकिने, एकले अर्कोलाई सहयोग गर्ने, केन्द्र, प्रदेश सरकार सँग अनुदान माग गर्न दह्रो उपस्थित रहने, कमीकमजोरी सुधारका लागि एक आपसबाट सुझाव आदानप्रदान गर्न सकिने भएकाले पालिका प्रमुखहरू सङ्गठित हुनु परेको बताए ।

कार्यकालको समय अवधि ३६ महिना बाँकी छ । यस अवधीमा नगर तथा पालिका प्रमुखहरूले गरेको कामलाई भावी पुस्ताले सम्झने योग्य काम गरेर देखाउन सक्नुपर्छ । तथ्याङ्कले स्थानीय तहमा धेरै भ्रष्टाचार भएको देखाएको छ । भ्रष्टाचार न्यूनिकरणका लागि जिल्लाका सबै पालिकाहरूमा एकै खालको नीति बनाएर भ्रष्टाचार न्यूनिकरण अभियानमा लाग्न सकिने र एक अर्काको दोष देखाएर बस्नु भन्दा झापाका सबै पालिकाहरूलाई सुशासन युक्त पालिका बनाउने तर्फ सामूहिक प्रतिवद्धता हुन जरुरी रहेको दमक नगरपालिका प्रमुख रामकुमार थापाको धारणा रहेको छ ।

पालिकाले गरेका सफल अभ्यासहरूलाई एक आपसमा आदन-प्रदान गरेर सिंगो झापा जिल्लालाई नयाँ ढङ्गको विकास मोडलमा लान सकिने, जिल्लावासीको जनजीवनमा प्रत्यक्ष सरोकार रहने स्वास्थ्य, शिक्षा, खेलकुद, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कार्यमा प्रमुखहरूको सञ्जाल सेतु बन्न सक्ने, झापालाई देशमै नमुना जिल्ला बनाउने दिवा सपना देखेको भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले धारणा राखेका थिए ।

छरिएका आवजलाई समेटेर सामूहिक आवाज बनाउन पर्छ । शिक्षक, कर्मचारी आन्दोलनलाई समान सम्बोधनको खाका बनाउनु पर्छ ।  विभिन्न दलहरूबाट प्रतिनिधित्व गरेर निर्वाचित भएपनि  पालिकामा आइपर्ने समस्या हरूलाई  एउटै फोरमबाट सम्बोधन गर्नुपर्ने, नगरपालिका महासंघ छ, तर दुर्गममा भए जस्तो भएको छ । यस कारण पनि प्रमुखहरूको सञ्जाल बन्न आवश्यक रहेको शिवसतासी नगरपालिका मेयर मेघाहाङ थोप्रा (रोशन) को तर्क छ।   

विदेश भ्रमणले नयाँ भिजन बनाउन सजिलो बनाएको छ । झापाबाट देशभरी सन्देश दिनेगरी  केही रचनात्मक कामको थालनी गर्नुपर्ने हुन्छ । झापाका प्रमुखहरूले गरेको काम अन्य जिल्लाका मेयर, अध्यक्षहरूको लागि उदाहरणीय बन्न सक्नेमा आफू आशावादी रहेको गौरीगन्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी को भनाई छ ।

उत्साहित बन्दै हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले भने  ‘सञ्जाल गठन नेपालमा पहिलो प्रयास भएको छ, समन्वयकारी भूमिका आवश्यक थियो । विगत ५ वर्ष अघि प्राय  जनप्रतिनिधि प्रमुखहरू राजा जस्तै  भएका थिए । यो सञ्जाल अगाडि नै गठन भएको भए राम्रो हुने थियो । प्रमुखहरूलाई फसाउन विभिन्न पक्षबाट जालझेल भइरहेको हुनसक्छ । कानुनको अभावले कतिपय कामहरू व्यवहारिक रुपमा गरेको भए, ४ वर्ष पछाडि पनि अख्तियारले दुःख दिने रहेछ । आज हामीले विकास चै गिटी बालुवाको मात्र गरिरहेका छौं । मेरो बुवा पञ्चायतकालमा प्रधानपञ्च हुनुहुन्थ्यो, त्योबेला बुबाले गिटी हालेको बाटोमा आज पनि म गिटी हालिरहेको रहेछु । यस कार्यले मलाई झस्काएको छ । अब केही फरक काम गर्नु छ । प्रमुखहरूको सञ्जाल भेटघाट मात्रको लागि मात्र होइन, सिक्ने र सिकाउने थलो पनि बन्ने छ।’

बैठकमा ८ वडा पालिका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । मेचीनगर नगरपालिका कार्यवाहक प्रमुख ह्दय राजवंशी, कचनकवल का अध्यक्ष कालेन्द्र राजवंशीले प्रतिनिधि पठाएका थिए ।

झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँ, बाह्रदशी गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चौलागाईँ, गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदी, अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन र बिर्तामोड नगर प्रमुख पवित्रा देवी महताराको उपस्थिति रहेको थिएन । उनीहरूले प्रतिनिधि पनि पठाएका थिएनन् ।

प्रारम्भिक बैठकले आगामी कार्तिक २४ गते शुक्रबार दमक नगरको आतिथ्यमा बैठक डाक्ने निर्णय भएको छ।

कनकाई नगरले गरेका सफल अभ्यास र योजनाबारे नगरप्रमुख राजेन्द्र कुमार पोखरेलले बैठकमा सहभागीहरू समक्ष जानकारी गराएका थिए । किशोरीहरूलाई क्लोज क्याम्पमा राखेर फुटबल प्रशिक्षण दिनेकाम नगरबाट हुँदै आएको । खेलकुदको नतिजा पनि राम्रो भएको । फोहोर व्यवस्थापनमा तीनवटा पालिकाले गरेको सहकार्य सार्थक बनेको । फोहोर बाट इन्धन ग्यास उत्पादन सुरु भएको । प्लास्टिक लाई गालेर पेर्वस बनाउन सकिने । हस्पिटल जन्य फोहोर व्यवस्थापनमा  सबै पालिकाको समस्या उस्तै भएकाले सहकार्यको खाँचो रहेको भन्दै हरेक बैठक आयोजना हुँदा आतिथ्य गर्ने पालिकाले आफ्नो नगरमा भएका नमुना कार्यक्रमको बारेमा जानकारी गराउनुपर्नेमा जोड दिए । मासिक बैठक बाहेक हरेक ६ महिनामा आवाससहित विशेष बैठक आयोजना गर्नुपर्ने प्रस्थाव नगर प्रमुख पोखरेलको रहेको छ ।

बैठकको सहजीकरण कनकाई नगर प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले गरेका थिए । बैठकमा प्रशासकीय अधिकृत जमुना कटुवाल, कर्मचारी सहायक पाचौँ तह लक्ष्मीप्रसाद अधिकारी, सहायक पाचौँ तह विजय पाठक, भूमि आयोग झापाका अध्यक्ष तिलक पाण्डेलगायतको उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
1
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर