भद्रपुर । अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ० को सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घले सञ्चालन गरिरहेको ‘उद्योगहरूमा व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ झापा र इलाममा प्रभावकारी देखिएको छ ।

झापा र इलाममा अलैंची तथा चिया क्षेत्रमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी देखिएको सरोकारवालाहरू बीच झापाको बिर्तामोडमा आयोजित योजना बैठकमा सहभागीहरूले बताएका हुन् ।
महासङ्घले गत वर्ष शुरु गरेको प्रशिक्षणात्मक सो कार्यक्रमले चिया तथा अलैंची उद्योग सम्बद्ध सबै पक्षलाई व्यवसाय जन्य सुरक्षा र स्वास्थ्यको विषयमा सचेत गराउनुका साथै यसअघि उद्योगहरूमा देखिएका कमी – कमजोरी सुधारमा ठूलो मद्दत पुगेको बैठकका सहभागीहरूले बताएका थिए ।
नेपाल अलैंची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित योजना बैठकमा नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेशकुमार अग्रवाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, साना किसान चिया प्रशोधन उद्योग, पृथ्वीनगरका प्रबन्धक देवीप्रसाद कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश सदस्य ऋषिराज तिमिल्सिनालगायतले चिया तथा अलैंची क्षेत्रमा यो कार्यक्रम प्रभावकारी देखिएको र यसलाई निरन्तरता दिनुपर्ने सुझाव राखेका थिए ।
चिया र अलैंची प्रशोधन क्षेत्रमा धूलो र धुँवासँग सम्बन्धित क्षेत्र भएकोले सुरक्षा र स्वास्थ्यका दृष्टिकोणले यसमा आबद्ध सबै पक्ष जोखिममा रहने गरेको उल्लेख गर्दै नेपाल चिया उत्पादक संघका अध्यक्ष अग्रवालले यो कार्यक्रमपछि धुलो र धुँवा व्यवस्थापनका पक्षमा धेरै सुधार आएको बताएका थिए ।
अहिले अधिकांश उद्योगहरूमा मजदुरहरूले पनि ग्लोब्स–मास्क लगाउने, उद्योगहरूमा प्राथमिक उपचारका सबैखाले सामग्री–औषधिको व्यवस्थापन भइरहेको, कार्यक्रमले निर्देश गरे अन्सार सुरक्षाका सबैखाले उपाय अपनाएको पाइएको नेपाल अलैंची व्यवसायी महासङ्घका अध्यक्ष भट्टराईको भनाइ थियो ।
बिर्तामोडको एक होटलमा हालै आयोजित योजना बैठकको सहजीकरण नेपाल उद्योग वाणिज्य महासङ्घका अधिकृत हरि पौडेलले गरेका थिए ।
उद्योगहरूमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धन कार्यक्रमबाट हालसम्म झापा र इलामका ३० वटा चिया तथा अलैंची उद्योगका एक हजारबढी मजदुर, सञ्चालक र कर्मचारीहरूलाई विभिन्न समयमा प्रशिक्षण तथा अभिमुखीकरण गरिसकिएको झापामा यो कार्यक्रमलाई संयोजन गरिरहेका नेपाल अलैंची व्यवसायी महासङ्घका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले जानकारी दिए ।