Aamsanchar

मुस्ताङमै महङ्गियो भेंडा च्याङ्ग्रा

Author Image
बिहिवार, असोज २५, २०८०

जोमसोम – यसवर्ष पनि दसैंलक्षित भेंडा च्याङ्ग्रा मुस्ताङमै महङ्गिएका छन् । कोभिड तथा सुरक्षा संवेदनशीलताका कारण छिमेकी देश चीनले उत्तरी कोरलानाका विगत ४ वर्षदेखि बन्द गरेकोले बर्सेनी मुस्ताङमा भेंडा च्याङ्ग्राको भाउ बढ्दै गएको हो।

मुस्ताङका अरु ठाउँबाट दसैंका लागि भेंडा च्याङ्ग्रा जोमसोम आउन थालेका छन् । तर बर्सेनि भेंडा च्याङ्ग्रा झर्ने क्रम घट्दै गइरहेको छ । यसवर्ष भेंडा च्याङ्ग्रा करिव ७ हजारदेखि ८ हजारसम्म बाहिरिने अनुमान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमका पशु चिकित्सक लालमणी आचार्यले जानकारी दिए । जोमसोममा करिव ३८ सय भेंडा च्याङ्ग्राको पशु निरोगिताको प्रमाणपत्र उपलब्ध गराइएको अरु थप १ हजार भेंडा च्याङ्ग्रा सम्पर्कमा आएको पशु चिकित्सक आचार्यले बताए । डोल्पा र उपल्लो मुस्ताङबाट भेंडा च्याङ्ग्रा सदरमुकाम जोमसोम झरेको पशु चिकित्सक आचार्यको भनाई छ ।

‘नाका खुलेको छैन, नितान्त डोल्पा र मुस्ताङबाटमात्र च्याङ्ग्रा आएका हुन् , पशु चिकित्सक आचार्यले भने, ‘बुधबारसम्म ५ हजार जति च्याङ्ग्रा मुस्ताङबाट बाहिरिएको छ, अब आउने क्रम कम भइसकेको छ ।’

यसपटक भेटेरिनरी अस्पतालका पशु चिकित्सक आफैं फिल्डमै खटिएर पशुचौपायाको निरीक्षण गरेका छन् । विगतका वर्षहरुमा कार्यालय पुगेर भेंडा च्याङ्ग्राको निरीक्षण नगरी पशु निरोगिताको प्रमाणपत्र दिने गरिएको थियो । अस्वस्थ्य भेंडा च्याङ्ग्रा उपचार गरेर पछि बिक्री गर्न सुझाव दिएको पशु चिकित्सक आचार्यले उल्लेख गरे । मानव स्वास्थ्य माथि प्रतिकुल हुने भएकाले फिल्डमै भेंडा च्याङ्ग्राको अनुगमन गरिएको उनले बताए ।
उपल्लो डोल्पा र उपल्लो मुस्ताङका पशुपालकले व्यवसायिक रुपमा भेंडा च्याङ्ग्रा पालन गर्ने गरेका छन् । चाईना बोर्डर विगत ४ वर्षदेखि बन्दा हुँदा भेंडा च्याङ्ग्राका पाठापाठी भित्र्याउन पाएका छैनन् । तिब्बतबाट पाठा पाठी ल्याएर वयस्क बनाएपछि मासुका लागि उपल्लो मुस्ताङका पशुपालकले जोमसोम ल्याउँथे । मुस्ताङका सीमित पशुपालकले पालेका भेंडा च्याङ्ग्राले दसैंको माग थेग्न मुश्किल छ ।

बोडर नखुल्दा मुल्य आकाशिएको लोमान्थाङ —१ छोसेरका पशुपालक व्यापारी आङ्गेल गुरुङले जानकारी दिए । सरकारले कोरलानाकाको चाइना बोर्डर खुल्छ भन्ने हल्ला गरे पनि नखोलेको च्याङ्ग्रा व्यापारी गुरुङको भनाइ छ । सरकारलई कटाक्ष गर्दै च्याङ्ग्रा धनी गुरुङले आक्रोश पोख्दै भने, ‘कोरला नाका खुल्छ भन्ने हल्ला गरियो,आखिरमा अहिलेसम्म खुलेन। जनतालाई अल्मल्याउने सरकारको यस्तो नीति बेठिक छ। जनतालाई नाका खुल्ने हल्ला गरेर अल्म्ल्याउने काम राम्रो होइन ।’

चीनको स्वशासित क्षेत्र तिब्बतको कोरलानाका खुलेको भए ५५ हजार पर्ने भेंडा च्याङ्ग्रा ३५ हजार पाइने छोसेरका च्याङ्ग्रा धनी आङ्गेलको दावी छ । उनले कोरलानाका नखुल्दा ब्यापारीहरुले जोमसोममै ४२ हजारदेखि ५५ हजारसम्म भेंडाच्याङ्ग्रा खरिद गर्न बाध्य भएको च्याङ्ग्रा धनी आङ्गेलले सुनाए ।

यसवर्ष च्याङ्ग्रा खरिद गर्न आउने ब्यापारीहरु भीडभाड निकै कम रहेको छ । अघिल्लो आर्थिक वर्षमा करिव १०र१२ हजार भेंडाच्याङ्ग्रा मुस्ताङ बाहिरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको दावी छ । यसवर्ष मुस्ताङमै २५ प्रतिशतले भेंडा च्याङ्ग्राको व्यापारमा ह्रास आएको हो ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ,लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका पशुपालकले भेंडा च्याङ्ग्रा पालन गर्दै आइरहेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार लोमान्थाङमा ५२ हजार भेंडा च्याङ्ग्रा पालन गरिएको छ । ६० वटा बढी च्याङ्ग्रा फार्म छन् । औसत ५० भन्दा बढी घरधुरीले भेंडा च्याङ्ग्रा पालन गरेको कार्यालयको दावी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर