Aamsanchar

हमास आक्रमणमा परी इजरायलमा मृत्यु भएका २६ वर्षीय आशिषको अन्त्येष्टि

Author Image
सोमवार, कार्तिक ६, २०८०

धनगढी- सबैतिर दसैंको रमाइलो भइरहेको बेला कैलालीको जोशीपुर गाउँपालिका–५ मैनपोखरी गाउँ भने शोकमा डुबेको छ ।

लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुग्नुभएका सो गाउँका २६ वर्षीय आशिष चौधरीको हमास आक्रमणमा परी मृत्यु घटनाका कारण मैनपोखरीलाई दसैंले छुन नसकेको हो । परिवारको एक्लो छोरा एवम् घरको सहारा आशिषको शरीर दसैंमा घर फर्कियो, तर मान्यजनबाट कहिल्यै टीका नथाप्ने र आशिष ग्रहण नगर्ने गरी । बाकसमा आएको आशिषको पार्थिक शरीर मैनपोखरी गाउँस्थित घैलाखोलामा आज सदाको लागि विलीन भएको छ । स्थानीयका अनुसार आशिषको छाती र जाँघमा गोली लागेको थियो ।

सबैतिर दसैंको रमझमले छोएको बेला आशिषलाई सदाका लागि बिदाइ गरेको उहाँका साथी अभिमन्यु चौधरीले बताउनुभयो । “दसैंमा आशिष फर्कियो, तर दसैंको आशिष ग्रहण नगर्ने गरी”, उहाँले अगाडि थप्नुभयो,“घैलाखोलामा उसको अन्त्येष्टि गरेका छौं ।”

परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर इजरायल पुगेका आशिषको निधनले घरमा अँध्यारो छाएको छ । परिवारको एक्ला छोराको वियोगमा आशिषका बाआमा विक्षिप्त हुनुहुन्छ । सन्तानको रुपमा आशिष र उहाँको दिदी अमृतामात्रै रहनुभएको थियो । अमृताको विवाह भइसकेकाले घरमा आशिषको बाआमामात्रै रहनुभएको छ ।

लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इन्टर्नका लागि इजरायल पुगेका १० जना विद्यार्थीको हमास आक्रमणबाट ज्यान गएको थियो । मृत्यु भएकाध्ये चार जनाको शव हिजो नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको हो । केही हप्तापछि शव पाएका परिवारले आज अन्त्येष्टि गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर