Aamsanchar

छाक टार्नका लागि माछा र घुँगी

Author Image
आइतवार, कार्तिक १२, २०८०

सर्लाही –सर्लाहीसहित तराईका महिलाले छाक टार्नका लागि माछा र घुँगी संकलन गर्ने गरेका छन् । उनीहरुले धान खेत, कुलो तथा नहरमा जम्मा भएको पानीमा सामुहिक रुपमा माछा मार्ने गरेका छन् ।

यसरी संकलन गरिएको माछा र घुँगीले छाक मात्रै टार्न सकिने भएपनि प्रत्येक गाँउबाट समुह बनाएर दैनिक रुपमा घुँगी, माछा र गँगटो संकलन गरेको देखिन्छ ।

संकलित घुँगीको चुच्चो भाग काटेर केहीबेर पानीमा डुवाएर सफा गरि त्यसलाई पकाएर खाने गरिन्छ ।

घुँगी खाँदा स्वास्थ्यमा समेत फाइदा पुग्ने चिकित्सकको भनाइ छ । सुपको रुपमा खाँदा यसले शरीरलाई आवश्यक पर्ने मिनरल, क्यालसियम जस्ता पौष्टिक तत्व पाइने स्वास्थ्यकर्मी सूर्यनारायण चौधरीले जानकारी दिनुभयो । जसले गर्दा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि हुने उँहाको भनाइ छ ।

स्वास्थ्यको दृष्टिले समेत अति उपयोगी भएकाले दैनिक जसो यसको संकलन गर्न महिलाको भीड लाग्ने गर्दछ ।

असारदेखि धेरै मात्रामा पाइने भएपनि थारु जातिको पर्व माघीमा विशेष परिकारको रुपमा घुँगीलाई लिइने हुँदा यसको थारु समुदायमा विशेष महत्व रहेको छ ।

घोङीको व्यवसायिक रुपमा पालन हुन नसके पनि बजारमा भने धान खेत तथा पानी जम्ने ठाँउबाट संकलन गरिएको घुँगी पाउन सकिन्छ । संकलन गरिएको घुँगी बजारमा प्रतिकेजी ५०–६० रुँपैयामा बिक्री हुने गरेको छ ।

पछिल्लो समय खेतबारीमा प्रयोग गरिने विभिन्न किसिमको रासायनिक मल तथा विषादीले गर्दा घुँगी पहिलेको तुलनामा अहिले कम पाइन थालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर