Aamsanchar

प्रदेश राजधानीको पर्यटन गन्तव्य ‘देवीकोट’ 

Author Image
बिहिवार, कार्तिक १६, २०८०

दाङ । लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीको सिरमा छ देवीकोट । त्यहाँ रहेको देवीकोट मन्दिर, देखिने सेताम्मे हिमाल र तराईका फाँटले छुट्टै आनन्द दिन्छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले उत्तम ठाउँका रुपमा लिइएको देवीकोट देउखुरी उपत्यकाबाट ८ किलोमिटर मात्रै उकालो चढ्नु पर्छ । त्यसपछि देवीकोटको पहाडी हावापानीको आनन्द लिन सकिन्छ । देउखुरीमा स्थायी राजधानी भएपछि देवीकोटलाई नै पर्यटनको गन्तव्यका रुपमा लिन सकिने लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बताए ।“देउखुरी क्षेत्रमा राजधानी आएपछि १२ वटै जिल्लाको केन्द्र भयो, अब यहाँ आउने हरेकलाई रमणीय ठाउँ चाहिन्छ” ,उनले भने “त्यो ठाउँ देवीकोट हो ।”

स्थायी राजधानी देउखुरीको मौरीघाटबाट जान कच्ची सडक छ । तर, त्यहाँ पुगेपछि देवीकोट मन्दिरको दर्शन गर्न सकिन्छ । ऐतिहासिक भएपनि त्यो मन्दिरको भौतिक संरचना भने पर्याप्त मात्रामा निर्माण गर्न सकिएको छैन । मन्दिरको पर्खाल भत्किएको छ । सोही ठाउँमा सतीदेवीको बाँया घुँडा पतन भएको किम्वदन्ती रहेको छ । तर, पनि त्यहाँ आवश्यक संरचना तयार नहुँदा भक्तजनहरूको त्यति धेरै आकर्षण छैन । सोही ठाउँमा मन्दिरका अन्य संरचना निर्माण तथा मन्दिर निर्माणस्थलको जमिन जोगाउन तर्फ ध्यान दिनुपर्ने पालिका अध्यक्ष प्रकाश विष्टले बताए ।“मन्दिर निर्माण स्थलमा पनि पहिरो गएको छ, अन्य संरचना पनि निर्माण भएका छैनन्”, उनले भने “यसमा संघ र प्रदेश सरकारले चासो दिनुपर्छ ।”

त्यहाँ विद्युतको पोल र तार जडान गरिएको छ, तर, विद्युत अझै बल्न सकेको अवस्था छैन । कच्ची सडक छ, तर, सहज यातायात छैन । खानेपानीको पनि समस्या छ । यी सबै समस्या समाधान भएमा प्रदेशको पर्यटनको एउटा गन्तव्य बन्न सक्ने अध्यक्ष विष्टको भनाई छ । प्रदेश राजधानीदेखि नजिकै भएकाले जो कोही पनि सोही ठाउँमा गएर दर्शन गर्न सक्ने उहाँको भनाई छ । त्यहाँबाट सिस्ने हिमाललगायत अन्य हिमशृङ्खला पनि देखिने, पहाडहरूको अवलोकन गर्न पनि पाइने र भारतका केही भूभाग पनि देख्न सकिन्छ ।

त्यहाँ स्थानीय ढिँडो, रोटी, स्थानीय जातका कुखुरा, खसीलगायतका खानेकुराहरू पनि पाइन्छन् । त्यसले गर्दा होमस्टेको पनि राम्रो सम्भावना भएको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्केले बताए ।  प्रदेश राजधानी भएको क्षेत्रबाट स्वर्गद्वारी समेत जोडिने सडक त्यहाँबाट हुँदै जाने भएकाले पनि यसको सम्भावना रहेको उहाँको भनाई छ ।“प्रदेश राजधानी भएको ठाउँबाट देवीकोट–हुँदै प्यूठान स्वर्गद्वारी समेत जान सकिने गरि सडकको काम अघि बढेको छ”, उनले भने “त्यसो भएमा प्रदेश राजधानीलाई पर्यटनसँग जोड्न पनि सहज हुन्छ ।” उनले राजधानी क्षेत्रका चुरेपहाडहरुलाई ‘हिलसाइड’ का रुपमा विकास गरिने समेत बताए । साथै देवीकोटमा प्यागोडाशैलीको मन्दिर निर्माण गर्न सकिने उनले बताए । मन्त्री मास्केले बहुवर्षीय योजनामा हालेर सोही मन्दिरको व्यवस्थापन गर्ने बताए ।

प्याराग्लाइडिङ निर्माणमा निजी क्षेत्र आकर्षित
देवीकोटमा प्याराग्लाइडिङ निर्माण गर्न तर्फ पनि निजी क्षेत्रले चासो देखाएका छन् । प्रदेश सभामुख घर्तीका अनुसार केही दिन अघि सोही स्थानमा अध्ययन अबलोकनकालागि आएर फर्किएका छन् । यदि प्याराग्लाइडिङ निर्माण भएमा आम्दानीका स्रोतहरू पनि बढ्नासाथै स्वरोजगार सिर्जना हुने उनले बताए । “केही दिन अघि मात्रै यहाँ प्याराग्लाइडिङको टोली अध्ययनकालागि आएको थियो, मैले देवीकोटमा अध्ययन गर्न भनेको हुँ”, उनले भने ।
देवीकोटमा होमस्टेको अवधारणा अनुसार अगाडि बढ्नु पर्ने समेत उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर