Aamsanchar

कोदोको लोकल रक्सीको ब्राण्डिङ गर्ने छथर गाउँपालिकाकाे तयारी

Author Image
बिहिवार, कार्तिक १६, २०८०

तेह्रथुम – छथर गाउँपालिकाले कोदोको लोकल रक्सीको बजारीकरणका लागि कानून निर्माण गरेर ब्राण्डिङ गर्ने तयारी थालेको छ । घरेलु मदिरालाई ‘ब्यान्ड होइन ब्राण्ड’ बनाउन जिल्लामै पहिलो पटक गाउँपालिकाले तयारी थालेको हो ।स्थानीय स्तरमा उपलब्ध कोदोको लोकल रक्सीको उत्पादन, स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि कानुन निर्माण भइरहेको छ । घरेलु मदिरालाई ‘ब्याण्ड (प्रतिबन्ध) होइन ब्राण्ड’ बनाउने अवधारणा अनुसार गाउँपालिकाले काम गरिरहेको अध्यक्ष सन्तवीर लिम्बुको भनाइ छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको सातौं अधिवेशन तथा वार्षिक नीति कार्यक्रममै घरेलु मदिरा ‘कोदोको लोकल रक्सी’ ब्राण्डिङ गर्ने कार्यक्रम अघि सारेको छ । मौलिक संस्कृति तथा परम्परागत सिपसँग जोडिएका घरेलु उत्पादनको स्तरीकरण, ब्रान्डिङ र बजारीकरणका लागि सम्बन्धित मन्त्रालयसँगको समन्वयमा आवश्यक कानुन निर्माणमा अहिले गाउँपालिका जुटिरहेको छ ।

लोकल रक्सीको जिल्ला बाहिर विक्री वितरणका लागि कानुनी अफ्ठ्याराहरु फुकाउने कार्यमा प्रदेश र केन्द्र सरकारसँग आफूले समन्वय गरीरहेको र त्यो सम्भव नभए पालिका भित्र मात्रै विक्री वितरण गर्ने गरी पनि गाउँपालिकाले काम गरीरहेको अध्यक्ष लिम्बूको भनाइ छ ।घरेलु उत्पादनलाई प्रवर्द्धन गर्दै आर्थिक उन्नतीसँग जोड्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य अनुसार लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउन जिल्लामै नयाँ कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

कोशी प्रदेश सरकारलेसमेत केही वर्ष पहिले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण र प्रवर्द्धनका लागि योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा १० सदस्यीय सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको थियो । सो कार्यदललाई नेपाली मौलिक सिप र कौशल प्रयोग गर्दै स्थानीय कच्चा पदार्थ कोदोबाट घरेलु मदिराको उत्पादन र उपभोग भैरहेकोले यस्ता उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गर्नेबारे अध्ययन गरेर सुझाव पेस गर्ने जिम्मेवारी दिइएको थियो ।

घरेलु मदिरा विशेष गरी कोदोको रक्सीको व्यावसायिक उत्पादन, उपभोग र बजारीकरणका लागि विद्यमान कानून वाधक रहेकाले सो कानुन परिमार्जनका लागि समेत प्रदेश र केन्द्र सरकारसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आफ्नो पालिका भित्रको आर्थिक, सामाजिक, सांकृतिक र वातावरणीय प्रभाव समेतको पहिचान गरी गाउँमा कोदो उत्पादनको अवस्था, सम्भाव्यता, उत्पादन वृद्धि गर्न कृषकलाई आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहायता लगायतका सम्बन्धमा समेत अध्ययन गरीरहेको जनाएको छ ।

कोदोको खेती, उत्पादन र त्यसबाट बन्ने घरेलु मदिराको उत्पादन, संकलन, गुणस्तर परीक्षण, बोटलिङ, ब्राण्डिङ र बजारीकरण अवस्था लगायतका विषयमा गाउँपालिकाले अध्ययन गरिरहेको छ । यो कामका लागि अन्य निजी क्षेत्रको भूमिकाको समेत खोजी भइरहेको छ । लोकल रक्सीको ब्राण्डिङमा स्थानीय श्रमको उपयोग गरी रोजगारी सृजना गर्ने र यसैको माध्यमबाट जीविकोपार्जन र आर्थिक क्रियाकलाप अगाडि बढाउने योजना रहेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीको भनाइ छ ।

‘गाउँमा स्थानीय स्रोत साधनको प्रयोग गर्दै कोदोबाट रक्सी बनाएर खाने र बिक्री गर्ने चलन पहिले देखी नै चलीरहेको छ,’ गाउँपालिका अध्यक्ष लिम्बू ले भने, ‘यही प्रचलनलाई कानुनी दायरामा ल्याएर गाउँपालिकाले व्यवस्थित गरिदिने हो ।’ कोशी प्रदेशका सबैजसो जिल्लामा लोकल रक्सी स्थानीय आदिवासी जनजाती समुदायले उत्पादन गरी उपभोग र विक्री वितरण समेत गर्दै आएका छन् ।

गाउँपालिकाले बाँझो जमिनमा कोदो खेती गर्ने किसानलाई अनुदान दिने र खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना गर्ने कानुन गत वर्ष देखी नै कार्यान्वयनमा ल्याएको छ । घरेलु मदिरा उत्पादन गर्ने जो कोहीले अब गाउँपालिकाबाट अनुमति लिनुपर्ने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर