Aamsanchar

‘पुतली बाजे’काे अन्तिम संस्कार

Author Image
सोमवार, कार्तिक २०, २०८०

पर्वत – ‘पुतली बाजे’का नामले चर्चित रहेका तथा नेपालको सम्मानार्थ नागरिकता पाएका बेलायती नागरिक कोलिन फिलिप स्मिथको अन्तिम संस्कार गरिएको छ।

सन् १९३६ मा जन्मिएका कोलिन ३० वर्षको युवा उमेरमा सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेसाका लागि नेपाल आएका थिए। पुतलीको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन अतुलनीय योगदान गरेका उनको ८८ वर्षको उमेरमा गत शनिबार उपचारको क्रममा पोखरास्थित हरियो खर्क अस्पतालमा निधन भएको थियो।

स्व कोलिनको अन्तिम बिदाइ तथा श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई सोमबार बिहान १० बजे पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको ‘बटरफ्लाई म्युजियम’को प्राङ्गणमा राखिएको थियो। त्यसपछि क्रिश्चियन परम्पराअनुसार उनको अन्तिम संस्कार गरिएको हो।

स्मिथप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कोलिनको निधनले आफू निकै दुखी भएको बताएका छन्। केही समय नेपालमा पेसागत कामको लागि आएका व्यक्तिले पुनः आफ्नो देश नफर्किने घोषणा गरेर नेपालमै बसेर पुतलीको अध्ययनमा लाग्नु खुसीको कुरा भएको भन्दै उनले नेपालमा पाइने पुतलीको अभिलेखीकरण गरेर नेपाललाई विश्वमा चिनाउने कोलिनले पु¥याएको योगदान अविस्मरणीय रहने बताए।

सानैदेखि हिसाब र विज्ञानमा तीक्ष्ण क्षमता भएका कोलिन आफ्नै मामाको पुतली सङ्कलन गर्ने सोखबाट प्रभावित हुँदै नेपालमा पुतलीको अध्ययनमा लागेका व्यक्ति हुन्। नेपालका डाँडाकाँडा, भीर पाखा र पखेरा पुगेर पाँच सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरी पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङ्ग्रहालयको स्थापना गरेका छन्। सोमबार अन्तिम संस्कारअघि अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई सोही पुतली सङ्ग्रहालयको प्राङ्गणमा राखिएको थियो।

कोलिन स्मिथको योगदानको कदर गर्दै नेपाल सरकारले दुई डिसेम्बर २०१९ मा उनलाई सम्मानित नागरिकको दर्जा दिँदै सम्मानार्थ नागरिकता समेत प्रदान गरेको छ। कोलिन लामो समयदेखि पोखरा महानगरपालिका–१८ लामागाउँमा बस्दै आएका थिए। उनी लामो समयदेखि पिसाब सम्बन्धी समस्याले थलिएका थिए। युवा उमेरदेखि नेपालमै बसेर पुतलीको अध्ययन अनुसन्धानमा खटिएका स्मिथ बेलायत नफर्किने निर्णयसँगै नेपालमा बसेर युनाइटेड मिसनमार्फत शिक्षणमा आबद्ध भए। गोरखा, काठमाडौँ र पोखराका विद्यालयहरूमा उनले अध्यापन गरेका उनले पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई समेत अध्यापन गरेका थिए।

स्मिथले नेपालमा पाइने छ सय ६० प्रजातिका पुतलीमध्ये ९० प्रतिशत पुतली सङ्ग्रह गरेका थिए। पोखराको लामागाउँमा जग्गा किनेर बसोबास गर्दै आएका उनले नेपालकै युवालाई धर्मपुत्र बनाएर पालेका थिए। स्मिथ नेपालको सम्मानार्थ नागरिकता पाउने दोस्रो व्यक्ति हुन्। स्मिथभन्दा अगाडि सर्वोच्च शिखर सगरमाथाको प्रथम सफल आरोहण गरेका न्यूजील्याण्डका ‘फिलानथ्रोपिस्ट’ सर एडमण्ड हिलारीले नेपालको सम्मानार्थ नागरिकता पाएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर