Aamsanchar

राजवंशी विकास समाज संस्कृति संरक्षण अभियानमा, यस वर्ष पनि आयोजना भयो हुकाहुकी 

Author Image
आइतवार, कार्तिक २६, २०८०

अमरदह । पूर्वका भूमि पुत्रको रुपमा सामुदायिक अस्तित्व रहेको राजवंशी समुदायले तिहारको वेला मनाउने हुकाहुक्की पर्व यस वर्ष पनि मनाएका छन् ।
झापा, मोरङ र सुनुरीमा मुख्य रुपमा बसोबास गर्दै आएका राजवंशी ९कोच० समुदायले हिजो मोरङको सुनबर्षी नगरपालिका–२ अमरदहमा हुकाहुकी उत्सव मनाएका हुन ।

विविध सांस्कृतिक नृत्यसहित आयोजना भएको कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

राजवंशी समुदायहरूले तिहारमा धुमधामका साथ लक्ष्मी माताको पूजा अर्चना गर्ने गर्दछन् । माटो र बाली सँग निकट सम्बन्ध राखेर कृषि पेशामा आवद्ध राजवंशी समुदायहरूले धानबालीलाई लक्ष्मीको रुपमा मान्ने गरेका छन् ।
दुख गरेर लगाएको धानबाली कीरा फट्याङ्ग्राले नष्ट गर्ने भएकाले कीरा लगायतका जीवलाई भगाउन धान खेतमा सनपाटको सुन्टी द्वारा बनाइएको राँकोमा आगो बालेर खेतको आलीमा दौडँदा कीरा फट्याङग्रा हरु आगोमा आएर मर्ने र कीराहरू सो स्थान छोडेर भाग्ने गर्नाले बाली जोगिने भएकाले दिपावलीको दिन सोरा सोरा भन्दै खेतबारीमा राको बोकेर हिड्ने परम्परागत चलनलाई नै राजवंशी भाषामा हुकाहुकी भन्ने गरेको राजवंशी समाज विकास समिति केन्द्रिय अध्यक्ष अभय राजवंशीले बताए ।

पूर्वी तराइमा यस्तो कार्य अन्य समुदायहरूले पनि गर्ने गरेका छन् ।

राजवंशी समाज विकास समिति केन्द्रको समन्वय, मोरङ जिल्ला समितिको आयोजना, कोच राजवंशी समाज युएईको सह आयोजनामा आयोजित हुकाहुकी सांस्कृतिक समारोहमा भारतबाट आएका दुई सय जना कलाकारहरूले मौलिक नृत्य प्रस्तुत गरेका थिए । नेपालका विभिन्न पालिकाबाट आएका स्थानीय कलाकारहरूले पनि दर्जनौँ नृत्यहरू प्रर्दशनी गरेका थिए ।

राजवंशी समुदायको एक सांस्कृतिक पहिचानको रुपमा स्थापित हुकाहुकी मनाउने परम्परागत कार्यलाई जीवन्त दिन र आँउदो पुस्तालाई हुकाहुकी को महत्व र आवश्यकता दर्साउन विगतका दुई वर्ष देखि औपचारिक रुपमा हुकाहुकी कार्यक्रम आयोजना हुँदै आएको अध्यक्ष राजवंशीको भनाई छ ।

अघिल्लो एक दशक उता व्यक्तिगत तथा छरछिमेकी बिच आयोजना हुने हुकाहुकीले अहिले भने औपचारिकता पाउन थालेको हो ।

हिजो कार्यक्रमको रुपमा हुकाहुकी आयोजना गरिएको थियो भने आज लक्ष्मीपूजाको दिन तराईका राजवंशी कोच समुदायले आआफ्नो धान खेतमा हुकाहुकी खेल्ने छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर