उदयपुर । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चुरे पहाडी भूभागमा ऐतिहासिक चौदण्डी गढी रहेको छ ।

वि।सं १८३० भन्दा अघिसम्म चौदण्डी गढी सेनवंशी राजाहरूले तीन पुस्तासम्म शासन गरेको यस गढीको ऐतिहासिक महत्व पनि उत्तिकै रहेको छ । तीन जना सेन राजा जगत सेन, कर्ण सेन र मुकुन्द सेनले चौदण्डी गढीबाट सम्पूर्ण राजकाज चलाएको इतिहासबाट थाहा हुन्छ ।
विसं १८३० मा राजा मुकुन्द सेनको पालामा गोरखाका राजा पृथ्वीनारायण शाहका सेनापति अभिमानसिंह बस्नेतको नेतृत्वमा गएको गोरखाली सेनाले आक्रमण गरेपछि पूर्वको चौदण्डी राज्य गोरखामा विलय भएको थियो ।
उदयपुरको सदरमुकाम गाईघाटबाट २७ किलोमिटर पूर्वी पहाडी क्षेत्रमा रहेको चौदण्डी गढी अझै पनि सेनवंशीय राजधानी भनेर चिनिँदै आएको छ । सेन राजाहरूको पालामा निर्माण गरिएका चौदण्डीका दरबार, देवीदेवताका मन्दिर, बगैचा हरुको उचित संरक्षण र मर्मतसम्भार नहुँदा अहिले जीर्ण र भग्नावशेषका रुपमा परिणत भएका छन् ।

ऐतिहासिक तथा पुरातात्विक हिसाबले समेत महत्वपूर्ण रहेको चौदण्डी गढीको तत्काल उचित संरक्षणमा ध्यान नदिने हो भने यहाँका ऐतिहासिक तथा पुरातात्विक वस्तुहरू लोप हुने खतरा बढेको स्थानीयवासी जागिरमान राई बताउँछन ।





