Aamsanchar

सालनालसहितको बच्चा झाडीमा फेला

Author Image
शुक्रवार, मंसिर १, २०८०

काठमाण्डौ – हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवास सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सालनालसहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ । प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको नवजात शिशुलाई मानव सेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ ।

हेटौँडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानव सेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाले बताउनुभयो । बच्चा कसले सडकमा ल्याएर फालेको हो अहिलेसम्म खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक रुद्र पराजुलीले बताउनुभयो ।

‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेशनले गएको असोज २७ गतेदेखि यही मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरूपमा कमजोर सडक आश्रित मानवको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरूसँगै दशैँ, तिहार, छठजस्ता पर्व मनाउने गरी यो अभियान सञ्चालन गरिएको हो ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बाग्मती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्रममा अहिलेसम्म विभिन्न उमेर समूहका दुई सय ९२ जनाको उद्धार गरिसकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)