Aamsanchar

मोरङ आगलागी : घाइते २८ जनामध्ये एकको मृ*त्यु

Author Image
मङ्गलवार, मंसिर ५, २०८०

विराटनगर – मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका २८ जनामध्ये एक जनाको मृत्यु भएको छ। दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजाको राति १०:३० बजेतिर अचानक आगलागी सुरु भएको थियो।

आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए। घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मंगलबार बिहान २:४५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार पण्डितको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। आगलागीमा परेर घाइते भएकामध्ये ४ प्रहरी र २० जना स्थानीय गरेर २४ जनालाई थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। घाइतेमध्ये गम्भीर अवस्थाका ८ जनाको अहिले पनि आईसीयूमा उपचार भइरहेको डीएसपी दाहालले बताए।

कार्कीको घरमा सुनचाँदी पसलसहित भायनेटको कार्यालय र नजिकै फर्निचर पसल पनि थियो। सुनचाँदी पसल तथा भायनेटको कार्यालयमा पूर्ण रूपमा र फर्निचरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागीबाट ३ करोड ४१ लाखको क्षति भएको थियो।

आगलागीपछि घरभित्र पार्किङ गरेर राखेको बा ०१–०२५ च ६८४६ नम्बरको कार विष्फोट भएको थियो। आगलागी नियन्त्रणमा लिने क्रममा अचानक कार विष्फोट भएपछि आगो निभाउन खटिएकाहरु घाइते भएका थिए। आगलागीको कारण अझैसम्म खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर