Aamsanchar

चाईनिज मोटरसाइकल बरामद

Author Image
बुधवार, मंसिर ६, २०८०

जोमसोम – मुस्ताङ प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याइएका ४ वटा चिनियाँ कम्पनीका मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले नेपाल—चीन सीमा नाकाबाट चोरी र छल गरी ल्याइएका चाईनिज मोटरसाइकललाई सोमबार दिउँसो ४ बजे मुस्ताङ र डोल्पाको सीमा क्षेत्र साङ्ता गाउँ नजिकबाट बरामद गरेको हो।

नेपाल—चीन सीमानाकाबाट अवैध रुपमा भन्सार छलेर मोटरसाइकल लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा मुस्ताङ—डोल्पा सडकको सीमाक्षेत्रबाट ४ थान मोटरसाइकल फेला परेको प्रहरी नायव उपरीक्षक डीएसपी भोजराज पाण्डेले जानकारी दिए। मोटरसाइकल बरामद गरिएको स्थान मुस्ताङ—डोल्पा सडकको वारागुङ मुक्तिक्षेत्र—५ मा पर्छ।

प्रहरीले अवैध रुपमा भित्र्याइएका ४ थान चाईनिज कम्पनीको मोटरसाइकलको मूल्य १० लाख पर्ने उल्लेख गरिएको छ। प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार हरियो रकालो रंङको २ सय सीसीको लिफन कम्पनीको थान १, रातोरकालो रङको होनलि कम्पनीको १२५ सीसीको थान १, रातो कालो रङको यानग्याङ कम्पनीको १५० सीसीको थान १ र कालो सेतो रातो रङको जिङगुईगन ,जेटवाई २५० सीसीको अवैध मोटरसाइकल वरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक पाण्डेले नेपाल—चीन सीमा नाकाबाट अवैध रुपमा भित्र्याइएका ४ थान मोटरसाइकल मुस्ताङ भन्सार कार्यालय जोमसोममा पठाइएको जानकारी दिए। कोभिड तथा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै चीनले ४ वर्ष अघि नेचुङ—लिजी कोरला नाका बन्द गरेको थियो।

गत कार्तिक २७ गते औपचारिक रुपमा नाका खुल्ला भएसँगै मुस्ताङमा ४ थान चाईनिज मोटरसाइकल बरामद भएको हो। नाका खुलेको ५ दिनपछि नेचुङमा नेपालका तर्फबाट भन्सारका कर्मचारीले राजश्व उठाउन सुरु गरेको छ।

उपल्लो मुस्ताङमा चीनबाट अवैध रुपमा ल्याइएर दर्ता नभएका चाइनिज मोटरसाइकल छ्यापछ्याप्ती रहेको ती दर्ता बिनाका मोटरसाइकललाई कानुनी दायरामा ल्याउन पहल भइरहेको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर