Aamsanchar

‘अस्तित्वको न्यायिक सम्बोधन’ का लागि बिर्तामोडमा स्वीकारोक्ति फाउण्डेसनले कार्यक्रम गर्ने 

Author Image
सोमवार, मंसिर ११, २०८०

बिर्तामोड ।  ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने मूल विचार र मान्यता बोकेर मानव चेतना अभिवृद्धिको निम्ति सञ्चालित स्वीकारोक्ति फाउण्डेसनले  आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा खुसी, शान्ति र सद्भाव फैलाउने उद्देश्यका साथ ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ अभियान सुरु गरेको छ ।

‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ अन्तरगत नेपाल र भारतको विभिन्न स्थानहरूमा स्वीकारोक्ति दर्शन सम्बन्धी बिभिन्न कार्यक्रमहरूसहित सम्पन्न गर्ने फाउण्डेसनले सोमवार (आज) बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

‘अस्तित्वको न्यायिक सम्बोधन’ भन्ने मूल विचार र मान्यता बोकेर विश्वमा रहेका नेपालीहरू बिच अस्तित्वहरूको न्यायिक सम्बोधन र मानव चेतना अभिवृद्धिको रुपमा फाउण्डेसनले कार्यक्रम गर्दै आएको फाउण्डेसनका अध्यक्ष डेम्जोङ साम्पाङ राईले जानकारी दिए ।

हिजो झापाको दमक बेलडाँगी शिविरमा अन्तरक्रिया कार्यक्रम गरेर अभियानको शुभारम्भ भएको छ ।

अभियान अन्तरगत आगामी मंसिर १४ गते बिर्तामोड स्थित विर्ता पार्टी प्यालेसमा वृहत साहित्यिक तथा सम्मान कार्यक्रम गरिने बताइएको छ । कार्यक्रम दुई चरणमा आयोजना हुने छ । पहिलो चरणमा झापाका ५० वटा विद्यालयका ३ सय जना विद्यार्थी बीच अन्तरक्रिया आयोजना हुने छ भने दोस्रो चरणमा साहित्य र संगीत विधाको कार्यक्रम आयोजना गर्ने तयारीमा आयोजक रहेको छ ।
यस वर्षको अभियान समापन भने काठमाडौंमा गर्ने आयोजकले जनाएको छ ।

अभियान यात्रामा बिभिन्न स्थानहरूमा वृक्ष रोपण, अनुदान, बहस, छलफलहरू र विद्यार्थीहरूसँग कार्यशाला गोष्ठी समेत गरिने बताइएको छ ।
‘स्वीकारोक्ति विश्व यात्रा २०२३’ सुरु हुनु भन्दा अगाडि  वातावरण संरक्षण तथा शान्तिको सन्देश प्रवाह गर्न करिब एक सय भन्दा बढी साइकल यात्रीद्वारा काठमाडौँको विभिन्न स्थानहरूमा परिक्रमा गरि सद्भाव र्याली सम्पन्न गरिएको  साथै सडक पेटिमा भोकै सुतेका करिब एक सय ३० जना असहायलाई खाना समेत वितरण गरिएको अन्तराष्ट्रिय समन्वय तथा कार्यक्रम योजना प्रमुख कर्ण गुरुङले जानकारी दिए ।

झापा, सुनसरी, मोरङ, इलामलगायत नेपालका विभिन्न स्थान हुँदै भारतको आसाम राज्यको गुहाटी, सिक्किमको गान्तोक र दार्जिलिङको सिलिगुडीमा कार्यक्रम सम्पन्न गरेर पुनः काठमाडौँमा आगामी  मंसिर २८ र २९ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन काठमाडौँसँगको सहकार्यमा दुईदिने साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनपछि यात्राको समापन हुने ग्लोबल टुरका कोअर्डिनेटर अर्जुन उप्रेतीले बताए । उप्रेतीको भनाई अनुसार काठमाडौँमा हुने दुई  दिने साहित्य तथा युवा शैक्षिक शिखर सम्मेलनमा  प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्य रहने छ ।

यात्रा सँगसँगै हुने कार्यक्रमहरू मध्ये नेपाली साहित्यका वरिष्ठ व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ हस्तान्तरण गरिने जनाइएको छ । उक्त पुरस्कारको राशि छ लाख रुपैयाँ रहेको छ ।
फाउण्डेसनले अभियान अन्तरगत २०२३ मा नेपाल र भारका बिभिन्न स्थानको भ्रमण र बिभिन्न कार्यक्रम गरे पश्चात २०२४ मा अमेरिका, क्यानाडा र २०२५ मा युरोपका १० वटा देश गर्दै क्रमश विश्व भ्रमणसहित बिभिन्न कार्यक्रम गर्ने जनाइएको छ । फाउण्डेसन गैरराजनीतिक, गैरधार्मिक, गैरनाफामुखी रहेको स्वीकारोक्ति फाउन्डेसनका अभियन्ताहरूले दावी गरेका छन् ।
पत्रकार सम्मेलनको सञ्चालन सुनिता तामाङले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर