Aamsanchar

मेची राजमार्गमा चल्ने गाडिमा अवरोधकाे प्रयास

Author Image
मङ्गलवार, मंसिर १२, २०८०

तस्बिर : अन्नपूर्णपाेस्ट

झापा – पहिचानवादी समूहले मेची राजमार्गमा चक्काजाम गरेका छन् । नेकपा (एमाले)का सचिव एवं संघीय सांसद योगेशकुमार भट्टराईको गाडी तोडफोड गर्दा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै पहिचानवादीहरूले चक्काजाम गरेका हुन् । पहिचानवादी समूहले झापाको चारआलीदेखि इलामतर्फ जाने सवारीसाधनमाथि अवरोध पुर्‍याएको छ ।

केही पहिचानवादीहरूले झापाबाट इलामतर्फ जान लागेका सवारीसाधनलाई अवरोध गर्न खोजेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । अवरोधका बीच इलामतर्फ जाने सवारीसाधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यतर्फ पठाइरहेको उनको भनाई छ । यता प्रदेश नम्बर १ पुनः नामाङ्कन सङ्घर्ष समितिका संयोजक पाण्डवलाल चौधरीका अनुसार लोकल गाडीहरूलाई चल्न दिएको तर इलाम, ताप्लेजुङतर्फ जाने सवारीसाधनका चालकलाई नजान सम्झाइबुझाई गरि,रहेको बताए ।

पूर्वी पहाडी क्षेत्रमा पनि पहिचानवादीहरूले मंगलबार यातायात अवरुद्ध पारेको जनाइएको छ । बन्दका कारण मेची राजमार्गको फिदिम ताप्लेजुङ–फिदिम र फिदिम–इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् । आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै पहिचान पक्षधरले भट्टराईको गाडीमाथि आक्रमण गरेका थिए ।

सात–आठ जनाको समूहमा रहेकाहरूले भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेका थिए । त्यस क्रममा विपिन कङ्लिवा लिम्बू र आनन्द कङ्लिवा पक्राउ परेका छन् । उनीहरूलाई बिना सर्त रिहाइको माग राखेर पहिचानवादीहरू चक्काजाममा उत्रिएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर