Aamsanchar

सङ्घीय सरकारसँग सहकार्य मात्रै हैन सङ्घर्ष पनि गर्छौ : मुख्यमन्त्री कार्की

Author Image
मङ्गलवार, मंसिर १२, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीय सरकारसँग सहकार्य मात्रै नभई सङ्घर्ष पनि गर्ने बताउनुभएको छ । मङ्गलवार विराटनगरमा आयोजित स्थानीय तहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनु भएको हो ।

संविधानको कार्यान्वयन सही ढङ्गले गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘जबसम्म हामी पुरातन सोचमा हुन्छौँ तबसम्म हामी अगाडि बढ्न सक्दैनौँ । हामीले के गर्ने हो भन्ने कोराको योजनाका साथ जानुपर्ने हुन्छ । त्यसैले अहिलेको सरकारले संघ सरकारले समन्वयमात्रै नभई आफ्ना अधिकारहरू स्थापित गर्न सङ्घर्ष पनि गर्दछ ।’
मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरू दिगो विकासका लक्ष्यअनुसार काम गर्नुपर्ने बताउनुभयो । ‘हामीले त काम सुरु गरिसकेका छौँ, कनिकासरी बजेट छर्ने परिपाटी अन्त्य गर्दै छौँ, प्रदेशले कतिसम्मका कार्यक्रम गर्ने, संघले कति र स्थानीयतहले कति गर्ने भन्ने कुरामा मापदण्ड बनाउनुपर्छ । उहाँले भन्नुभयो, ताकि संघ सरकारले पनि साना योजनामा बजेट नछिरोस् प्रदेशले त साना योजना कटौती गरिसकेको छ ।’

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व मुख्यमन्त्री कार्कीले गर्नुभएको थियो । संघीय मन्त्री देवीले तीनै तहको सरकारबीच समन्वय भएमात्र विकासले गति लिनसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले अब कसरी अघि बढ्ने भनेर एउटा रोडम्याप बनाउन जरुरी छ ।’ मन्त्री देवीले विनियोजित बजेट समेत स्थानीय सरकारबाट खर्च हुन सक्ने अवस्था सिर्जना हुनु योजना तथा तयारीको अभावले हुने गरेको जिकिर गर्नुभयो ।

प्रदेशका प्रमुख सचिव डा। दीपक काफ्लेले कतिपय संघीय कानुन निर्माण हुन नसक्दा साझा अधिकार सूचीमा रहेका अधिकारहरूको प्रयोग हुन नसकेको बताउनु भयो । कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला, प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सङ्घीयता कार्यान्वयनसँगै लोकतन्त्रको सुदृढीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित असल अभ्यास कार्यक्रममा भएका उपलब्धिहरूका बारेमा भोलिसम्म प्रस्तुति दिइने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर