Aamsanchar

बिक्री घट्दा झापाका डेरी उद्योगमा घ्यु थुप्रियाे, भारत र बङ्गलादेश निकासीको वातावरण बनाइदिन माग

Author Image
आइतवार, मंसिर २४, २०८०

झापा – दुग्धजन्य उत्पादन घ्यूको बिक्री घट्दा ठूलो परिमाणमा डेरी उद्योगमा मौज्दात रहन गएको छ । घ्यू बिक्री नभएपछि व्यवसायीहरुले नौनी घ्यू भारत र बङ्गलादेश निकासीको वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् ।

कोशी प्रदेशका दुई ठूला डेरी उद्योग रितिका र एनएमसी डेरी उद्योगले आफ्नो चिस्यान केन्द्रमा रु ५० हजार केजी नौनी घ्यू जम्मा भएको जनाएका छन् ।व्यवसायीहरुका अनुसार बिगत नौ महिनादेखि घ्यूको बिक्री घटेको छ । जसले गर्दा किसानले बेलैमा दुधको भुक्तानी उद्योगबाट पाउन छाडेका छन् भने दूधको मूल्य पनि घटेको छ ।

दूधको बिक्रीमा समस्या आएपछि कोशी प्रदेश डेरी एशोसिएशनले प्रदेशभर कच्चा दूधको मूल्यप्रति लिटर रु १० का दरले घटाएको छ । डेरी उद्योगले सातामा कम्तीमा एक दिन ‘मिल्क होलिडे’को माग गरेका छन् । यसको सोझो असर दूध उत्पादन किसानलाई परेको छ ।

‘उत्पादन बढेको बढ्यै छ तर बिक्री भने घटेको छ । बिक्री घटेपछि यहाँका डेरी उद्योग सङ्कटमा परेका छन्’, नेपाल डेरी एशोसिएशनका केन्द्रीय उपाध्यक्ष राजन चिमरियाले भने, ‘भारत र बङ्गलादेशमा निकासीको वातावरण बनाइयोस् भनेर हामीले सरकारलाई दबाब दिइरहेका छौँ।’

भारत र बङ्गलादेशमा नेपालमा उत्पादित दूध, नौनी घ्यू र छुर्पीको बजार राम्रो भएको जनाउँदै उपाध्यक्ष चिमरियाले सरकारले अनुदान दिएर भए पनि दुग्धजन्य उत्पादनलाई विदेश निकासीको बाटो खोल्नुपर्नेमा जोड दिए।

बिगतमा भारतमा दुध र छुर्पी निर्यात हुने गरेको थियो । कोशी प्रदेश सरकारबाट घ्यू, पाउडर दूध र छुर्पीको विदेश निकासीका लागि घाटापूर्ति अनुदान दिने प्रतिबद्धता आएको र सो प्रतिबद्धता कार्यान्वयनमा आए डेरी उद्योगको हालको समस्या समाधान हुने उनको भनाइ छ ।

चिमरियाले झापाको मेचीनगर-१२ मा सञ्चालन गरेको रितिका डेरी उद्योगमा मात्रै हाल ३० हजार केजी नौनी घ्यू थुप्रिएको छ । उनको डेरीमा हाल २२ हजार लिटर कच्चा दुध दैनिक खपत हुने गरेको छ ।

सङ्कलित कच्चा दुधलाई प्रशोधन गरेर प्याकेटमा बिक्री गरिँदै आइएको छ । दूधबाहेक नौनी र खारेको घ्यू, छुर्पी, पनिर र मिठाइ उत्पादन गरी उद्योगले बजारमा लैजाँदै आएको उनले बताए ।

चिमरिया परिवारले रु २५ करोड लगानी गरेर स्थापना गरेको उक्त उद्योगमा हाल ८६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने गाईपालन गरिरहेका पाँच हजार पाँच सय किसानहरु जोडिएका छन् । उद्योगका साना र ठूला गरी कोशी प्रदेशभर एक हजार पाँच सय बिक्री कक्ष छन् ।

बिक्री घट्दा किसानहरुलाई दिइने दूधको नियमित भुक्तानीमा समेत असर परेको छ । रितिका डेरीले बिगतमा आधा महिनामै किसानको भुक्तानी गर्दै आएकोमा हाल एक महिनादेखि भुक्तानी गर्न सकिरहेको छैन । किसानहरुको रु पाँच करोड भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

दैनिक १५ हजार लिटर कच्चा दूध सङ्कलन गर्दै आएको मेचीनगर–८ स्थित एनएमसी डेरी उद्योगमा पनि १५ हजार केजी नौनी घ्यू थुप्रिएको उद्योगले जनाएको छ ।नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित भएकाले किसानको दूधको मूल्य नियमित तोकिएकै समयमा भुक्तानी दिइरहेको उद्योगले जनाएको छ ।

आठ वर्षअघि सहकारीको रु १५ करोड लगानीमा यो डेरी स्थापना भएको थियो । उद्योगमा हाल छ हजार पाँच किसान जोडिएका छन् । उद्योगले प्रशोधित दूध, दही, नौनी र खारेको घिउ, पनिर, मिठाइलगायत उत्पादन गर्दै आएको छ ।

‘उत्पादनहरु बिक्री नहुँदा समस्या आउने नै भयो,’ एनएमसी डेरी उद्योगका व्यवस्थापक नवराज अधिकारी भने, ‘घ्यू बिक्री बढाउन प्रयास गरिरहेका छौँ । बिक्री बढ्न थालेको पनि छ ।’

हाल यी दुवै उद्योगले घ्यूको बिक्री बढाउन मूल्य घटाएका छन् । बिगतमा प्रति केजी रु नौ सयसम्ममा बिक्री भएको नौनी घ्यू अहिले रु सात सय ५० मा बिक्री भइरहेको छ ।

एनएमसी डेरीले हालै प्रतिकेजी रु सात सयका दरले सर्वसाधारणलाई घ्यू बिक्री गरेको थियो । रितिका डेरी उद्योगले दूध सङ्कलनकर्ता साना व्यवसायीलाई घ्यू दिएर गाउँमा बिक्री गर्न पठाउने गरेको छ भने एनएमसी डेरीले ठूलो सङ्ख्यामा रहेका कर्मचारीलाई सहुलियत दरमा घ्यू किन्न प्रोत्साहित गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
शुक्रवार, साउन ४, २०८१
सुनको मूल्य आज
बिहिवार, साउन ३, २०८१