Aamsanchar

सगमारथा क्षेत्र सुनसान

Author Image
आइतवार, पौष १, २०८०

सोलुखुम्बु –सिजनमा स्वदेशी तथा विदेशी पर्यटहरुले खचाखच हुने सगमारथा क्षेत्र अहिले सुनसान भएको छ । चिसो बढेसँगै पर्यटक आवागमन न्यून हुनु तथा स्थानीय बासिन्दाहरू नै चिसो छल्न अन्यन्त्र गएका कारण खुम्बु क्षेत्र सुनसान बनेको हो । पुस, माघमा झन् धेरै चिसो हुनेहुँदा यहाँका स्थानीयहरु जाडो छल्न बेँसी झर्ने गर्दछन् ।

विगतका वर्षको तुलनामा यस वर्ष चिसो अत्यधिक भएपछि यो सिजनमा जिल्लाको पर्यटकीय क्षेत्र खुम्बुलगायतका अन्य क्षेत्रहरू छिट्टै सुनसान भएको हो । यहाँका मानिसहरू चिसो छल्न मंसिर पहिलो हप्तादेखि काठमाण्डौ, भारतको बोधगयालगायत विभिन्न ठाउँ जाने गरेका नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । खुम्बुमा मंसिरदेखि शुरु भएको चिसो करिब फागुनसम्म नै रहने भएकाले चिसो छल्नका लागि उनीहरू जिल्ला बाहिर जाने गरेका छन् ।

खुम्बुका गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवं थामेलगायतका बासिन्दाहरू पर्यटन सिजन सकिनासाथ कात्तिक अन्तिम हप्तातिरदेखि खुम्बु छोडिसकेका छन् भने त्यसभन्दा तलका बस्तीहरू खुम्जुङ, नाम्चे, लुक्लालगायतका स्थानीयहरू मंसिरको पहिलो हप्तातिर बाहिर गएको बताइएको छ । यहाँका बासिन्दा जाडो छल्नका लागि धेरैजसो काठमाण्डौ जाने गरेका छन् ।

स्थानीय फुरी शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायतका लज सञ्चालकहरूले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएर जाने गरेका छन् भने कतिपयले घरमा ताल्चा नै लगाएर जाने गरेका छन् ।

तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाण्डौसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका प्रायजसो स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाण्डौ भएको स्थानीय दावा शेर्पाले बताउनुभयो । ‍

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर