Aamsanchar

झीँ गाउँमा युवा कुलतमा फस्ने र धनराशि बाहिरिनबाट रोक्न आयातित रक्सीमा राेक

Author Image
शुक्रवार, पौष ६, २०८०

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झीँ गाउँमा आयातित रक्सीमाथि प्रतिबन्ध लगाइएको छ । झीँ गाउँमा युवा कुलतमा फस्ने र धनराशि बाहिरिनबाट रोक्न गाउँभेलामार्फत् आयातित रक्सी बिक्री वितरणमा रोक लगाइएको हो । परीक्षणका रुपमा एक वर्षअघिदेखि लागू गरिएको यो नियमका कारण गाउँमा रक्सी भित्रिँदा बाहिरिने लाखौँ रुपैयाँ जोगिएको स्थानीयवासीले बताएका छन् ।

विसं २०७९ मङ्सिर १६ गते झीँ गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाहरुको भेलाले सर्वसम्मत रुपमा आयातित रक्सीमाथि पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो । निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट रक्सी गाउँमा लैजान बन्द गरेका छन् ।

विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने र धनराशिसमेत मासिने भएपछि गाउँमा यो नियम लगाइएको रघुगङ्गा गाउँपालिका–५ का वडाअध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो । ुबाहिरबाट आयात गरिएका कतिपय रक्सीको गुणस्तर नहुँदा धेरै जनालाई विभिन्न रोग पनि लाग्यो, महँगा रक्सी खाँदा ठूलो धनराशि गाउँबाट बाहिरियो, गाउँमा सामाजिक सुधारअन्तर्गत यो नियम बनाएर लागू गरेको एक वर्षमै यसले धेरै सकारात्मक प्रभाव पारेको छु, उहाँले भन्नुभयो ।

कमजोर आर्थिक अवस्था भएकाहरुले बजारबाट आउने गुणस्तर नभएका रक्सी खाँदा स्वास्थ्यमा समस्या देखिन थालेपछि स्थानीयवासीले यस्तो निर्णय गरेका हुन् । रक्सी खानेहरुलाई गाउँमै स्तरीय घरेलु रक्सी बनाएर खान पाउने व्यवस्था गरिएको छ ।

घरेलु रक्सी सहजै रुपमा तयार नहुने र बाहिरबाट कुनै पनि प्रकारका रक्सीजन्य पदार्थ गाउँमा नभित्रिने भएकाले युवालाई समेत कुलतबाट टाढा राख्न सघाउ पुगेको स्थानीय गोविन्द पाइजाले बताउनुभयो । विवाह, व्रतबन्ध, किरियालगायत विभिन्न संस्कारमा रक्सीमा धेरै रकम खर्च हुने गरेको तर आयातित रक्सीलाई निषेध गरेपछि फजुल खर्च कम भएको उहाँले बताउनु भयो ।

मगर समुदायको बाहुल्यता रहेको झीँ गाउँमा करिब तीन सय ४० घरधुरी रहेका छन् । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँका रुपमा परिचित झीँ गाउँमा घरबाससमेत सञ्चालनमा छ । यहाँ आउने पर्यटकहरुले स्थानीय कोदो, मकै, जौ, गहुँलगायतको अन्नबाट परम्परागत रुपमा बनाइएको रक्सी खान पाउने व्यवस्था रहेको छ । यसअघि म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा स्थानीय आमा समूहले आयातित रक्सीको बिक्री गर्न तथा खान रोक लगाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर