Aamsanchar

प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव आयोजना हुने

Author Image
शनिवार, पौष ७, २०८०

बिर्तामोड । कोशी प्रदेशमै पहिलो पटक झापाको बिर्तामोडमा प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव आयोजना हुने भएको छ ।

नेपाली जुत्ता उद्योगी समूह सँगको सहकार्य र बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रा.लि. को आयोजनामा जुत्ता चप्पल व्यापार महोत्सव २०८० आयोजना हुने आज आयोजित पत्रकार भेटघाटमा महोत्सव आयोजक समितिका संयोजक उमेश डालमियाले जानकारी दिए ।

स्वदेशी उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’  भन्ने नारासहित पौष ९ गते देखि माघ ९ गते सम्म सिटी सेन्टरको प्राङ्गणमा महोत्सव आयोजना हुन लागेको हो ।

उपभोक्तालाई नयाँ डिजाइनका जुत्ताहरू सुपथ मूल्यमा उपलब्ध गराई नेपाली जुत्ता चप्पल उद्योग द्वारा उत्पादित ब्रान्डहरूको प्रचार प्रसार  गर्ने लक्ष्यका साथ एक महिने महोत्सव आयोजना गर्न लागिएको नेपाल जुत्ता उद्योग समूहका उपाध्यक्ष तथा उद्योगी रुद्र न्यौपानेले बताए ।

जुत्ता महोत्सवमा आठ वटा उद्योगले उत्पादन गरेको नयाँ डिजाइनका जुत्ता चप्पलहरू लन्च गर्ने र बच्चा देखि वृद्ध समूहका लागि ३ हजार भन्दा धेरै प्रकारका जुत्ता चप्पलहरू बिक्रीका लागि राखिने उद्योगी हरिशचन्द्र चम्लागाईले जानकारी दिए ।

महोत्सवमा न्यनतम २० देखि ५० प्रतिशत सम्म उपभोक्ताले छुट सुविधा प्राप्त गर्न सक्ने बताईएको छ ।

सय अघि देशका विभिन्न छ वटा सहरमा महोत्सव सम्पन्न गरेर सातौँ महोत्सव बिर्तामोडमा आयोजना गरिने भएको हो । यस पछि कोशी प्रदेशका अन्य शरह हरुमा पनि जुत्ता महोत्सव आयोजना गरिने उद्योगी विशाल खड्काले बताए ।

कोभिड अगाडि नेपाली उत्पादनले नेपालको ७१ प्रतिशत बजार ओगटेको थियो । कोभिड पछाडि ४१ प्रतिशतमा झरेको नेपाली जुत्ता चप्पलको  बजार बिक्री अवस्था अहिले सरदर ६५ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।

बिर्तामोडका उपभोक्ताहरूलाई गुणस्तरीय र सुलभ मूल्यमा जुत्ता चप्पल उपलब्ध गराउन समूहमा आवद्ध आठ वटा उद्योगले महोत्सव सकिए पछि सिटी सेन्टरमा बिक्री कक्ष पनि सुरु गर्ने उद्योगीहरूको योजना रहेको छ ।

फुटवेयर क्षेत्र जुत्ता चप्पलमा देशलाई आत्मनिर्भर बनाउन सक्षम रहेको छ । तर सरकारले विदेशबाट अवैध बाटो भएर ल्याइने जुत्ता चप्पललाई भन्सारको दायरामा ल्याउन सक्नुपर्छ । देशको बिग्रदो आर्थिक अवस्थालाई सुधार गर्न कतिपय बस्तुको आयातलाई प्रतिबन्ध लगाउनु पर्ने माग उद्योगीहरूले राखेका छन् ।

पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन व्यवसायी उमेश राउतले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर