Aamsanchar

रुसी सेनामा करिब दुई सय जना नेपाली भर्ना भएको र सय जना हराइरहेको परराष्ट्रमन्त्रीकाे दाबी

Author Image
मङ्गलवार, पौष १०, २०८०

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा करिब दुई सय जना नेपाली भर्ना भएको दाबी गरेका छन्। अध्ययन र भ्रमण भिसामा गएका उनीहरू रुसी सेनामा भर्ना भएको सरकारको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। उनले कम्तिमा सय जना नेपाली हराइरहेको बताए। ´करिब दुई सय जना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको खुलेको छ। त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो। किनभने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ,` उनले भने।

उनले युक्रेनमा बन्दी रहेका नेपालीको रिहाईका लागि त्यहाँको सरकासँग निरन्तर सम्बाद भइरहेको बतँए। ´युक्रेन हेर्ने हाम्रो राजदूतले उद्धारका लागि वार्ता संवाद गरिरहनुभएको छ। दिल्लीस्थित नेपाल हेर्ने युक्रेनको राजदूतावासमा पनि कुरा भइरहेको छ। अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्ध बनाइएका चार नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन पनि आग्रह गरेका छौं,` उनले भने।

 

रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै दिएको उनले प्रस्ट पारे। उनले नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर नेपालका चासोहरू रुसी सरकारसम्म पुर्‍याउन सन्देश दिएको मन्त्री साउदले बताए। मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानवअधिकार आयोगको चासोलाई नेपाल सरकारको दृष्टिकोण सम्प्रेषण गर्न निर्देशन दिएको उनको भनाइ छ।

उनले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)को प्रबन्ध गरेको बताए। त्यतिमात्र होइन, भारत, बंगलादेश र श्रीलंका तथा खाडी क्षेत्रका छ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाएको उनले बताए।´यसपछि पनि थप केही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाएका छौं। यसमा हामीले आफ्नोतर्फबाट गर्ने पहलकदमीमा केही कसर बाँकी राखेका छैनौं। कुनै कारणवस अफ्ठ्यारोमा परेर हाम्रो दूतावासमा पुगेकाको उद्धार गरेका छौं। नेपाल फिर्ता गरेका छौं,` उनले भने।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर