Aamsanchar

रोङमा व्यावसायिक मौरीपालन अभियान

Author Image
बुधवार, पौष १८, २०८०

इलाम- रोङ गाउँपालिकामा व्यावसायिक मौरीपालन अभियान सञ्चालन भएको छ । गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियानका लागि पालिकाले विभिन्न प्रयास गरिरहेको छ । रोङ वडा नम्बर ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गर्नुभएको छ । झण्डै ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै ठाउँमा घार व्यवस्थापन गर्नुभएका उहाँले २०७६ सालदेखि नै आधुनिक मौरीपालन गर्न थाल्नुभएको हो ।

उहाँले वार्षिक दुई सय ५० किलोसम्म मह उत्पादन गर्दै आउनुभएको छ । मह बिक्री गर्न कुनै समस्या नरहेको उहाँको भनाइ छ । व्यापारी घरमै आइपुग्छन् । घरबाट नै प्रतिकिलो एक हजार पाँच सयमा मह बिक्री हुँदै आएको छ । अर्का मौरीपालक किसान प्रेमबहादुर राईले वार्षिक एक सय किलोसम्म मह उत्पादन गर्नुहुन्छ । ३० वटा आधुनिक घारमा मौरीपालन पाल्नुभएका राई व्यावसायिक महबाटै आत्मनिर्भर भएको बताउनुहुन्छ ।

मह उत्पादनमा गाउँपालिका नै लागि परेपछि स्थानीयबासिन्दा पनि यो व्यवसायतर्फ आकर्षित भएका छन् । मौरीपालनलाई गाउँपालिकाको पहिचानका रुपमा स्थापित गर्न कार्यक्रम नै अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो ९सुवास० ले बताउनुभयो ।

चालु आर्थिक वर्षमा व्यावसायिक मौरीपालनका लागि पालिकाले ५० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरीपालनको विकासमा लागेको अध्यक्ष स्याङ्बोले जानकारी दिनुभयो ।

मौरी विकास केन्द्रबाट मह तथा मौरीका घार साथै मौरीसमेत बिक्री वितरण गर्ने र आम्दानीको स्रोत बढाउने उद्देश्य छ । पर्यावरणीय सन्तुलन कायम गर्न मौरीले राम्रो भूमिका निर्वाह गर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर