Aamsanchar

उपचार खर्च तिर्न नसक्दा इलामका दुर्गाप्रसाद अस्पतालमै

Author Image
बुधवार, पौष १८, २०८०

तस्बिर : नयाँ पत्रिका

झापा – इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य हुनुभएको छ । उहाँले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उहाँलाई गएको वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ को ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए ।

छ महिनाअघि नै उहाँको स्वास्थ्यमा सुधार आएको डाक्टरले बताए पनि घर ल्याउन नसकिएको परिवारले गुनासो गरेका छन् । उपचारमा लागेको खर्च बुझाउन आर्थिक अभावले अस्पतालमै राख्नुपरेको दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले बताउनुभयो ।

उपचारमा सात लाख १५ हजार खर्च भएको र त्यसमा तीन लाख रुपैयाँ बुझाएको तर बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा अस्पतालमै बस्नुपरेको भतिजा गोपालको भनाइ छ । अस्पतालमा छ महिनाअघि नै चार लाख १५ हजार रुपैयाँ बाँकी भएको र अहिले हिसाब–कति पुग्यो थाहा नभएको पनि उहाँले बताउनुभयो ।

भारतीय उच्च अदालतको आदेशअनुसार दिइएको रकम पनि यसअघिकै उपचारमा धेरै खर्च भइसकेको परिवारले जनाएको छ । ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनका अध्यक्ष डा। गिरिराज भन्टानाले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताउनुभयो । सिजोफोर्निया देखिएको र यसबाट पूर्ण निको नभए पनि उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको र अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने डा।भन्टानाले बताउनुभयो ।

दुर्गाप्रसाद जेलबाट छुटेर आएपछि मानसिक समस्या देखिएको थियो । इलामको माई नगरपालिका १०, लुम्बाक घर भएका दुर्गाप्रसादलाई २०७७ साल चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । उहाँ २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता हुनुभएको थियो ।

घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल पर्नुभएको थियो । उहाँलाई २०७७ साल चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाक घर ल्याइएको थियो । अहिले उहाँकी आमाको निधन भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर