![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/InShot_20240112_150851156.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
तुलसीपुर – आफूहरूको कला, संस्कार र संस्कृति लोप हुँदै गएको भनी मगर अगुवाले चिन्ता व्यक्त गरेका छन्।
नेपाल मगर संघ तुलसीपुर नगर कमिटीका अध्यक्ष हरि बुढामगरले आफूहरूको मौलिक संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे। पछिल्लो समय मगर समुदाय बसाइँसराइँका क्रममा विभिन्न समुदायसँग बस्दै आएपछि यस्तो अवस्था आएको उनको तर्क छ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
उनले भने, ‘हामीले विभिन्न सांस्कृतिक कार्यक्रम गरी माघी मनाउँछौँ। पछिल्लो पुस्तालाई यो संस्कार र संस्कृति सिकाउन मुस्किल परेको छ। कला संस्कृति जगेर्ना गर्न समस्या भए पनि अहिलेसम्म लागिपरेका छौँ।’
यस्तै उनले आफूहरूको वेषभूषा र भाषा पनि लोप हुने अवस्थामा रहेको भन्दै आफू घरमा आफ्नो भाषा बोल्ने गरे पनि छोराछोरीहरूलाई यो भाषा बोल्न नसक्ने अवस्था रहेको हुँदा चिन्ता व्यक्त गरे। उनका अनुसार नेपाल मगर संघ तुलसीपुर नगर कमिटीले तुलसीपुरमा मगर मौलिक सांस्कृतिक पर्व माघे संक्रान्ति २०८० को आयोजना गर्न लागेको छ।
उनले लोप हुन लागेको मौलिक संस्कृतिलाई जगेर्ना गर्न आफूहरूले २०७८ सालदेखि तुलसीपुरमा कार्यक्रम आयोजना गर्दै आइरहेको बताए। बाइसे, चौबिसे राज्य हुँदादेखि मगरहरूले माघी मनाउँदै आएको बताए।
यो पर्वमा आफूहरूले धनुषवाण खेल्ने र छोरीचेली पुज्ने चलन रहेको उनको भनाइ छ। उनले भने, ‘हामी धनुषवाण किन खेल्छौँ भने हाम्रा पुर्खाहरूले पहिला यसैको प्रयोग गरेर सिकार खेल्थे। त्यसैले हामीले धनुषवाण जोगाउन माघीमा निशाना लगाउने कार्यक्रम आयोजना गर्दै आएका छौँ।’
उनका अनुसार माघ १ गतेदेखि ३ गतेसम्म कार्यक्रम हुन्छ। माघीलाई मगर समुदायले हर्षोल्लासका रूपमा मनाउँदै आएको समेत उनले बताए।
यस्तै मगर समुदायका बुद्धिजीवी बलभद्र कुसारी मगरले आफ्नो कला, संस्कृति संरक्षणका लागि निरन्तर लागिपरेको बताए। उनका अनुसार माघ १ गते त्यो वर्ष उत्पादन हुने बस्तु पकाएर खाने र खुवाउने चलन छ। यस्तै उनले त्यही दिन माइतीहरूले छोरीचेलीलाई पुज्ने र आफ्नो वेषभूषा लगाएर धनुषवाण हान्ने संस्कार रहेको समेत बताए।
ठाउँअनुसार मगरहरूको भाषा फरक हुने गरेको उनको भनाइ छ। उनका अनुसार खाम, ढुँड, काइके, जस्ता भाषा रहेका छन्। काइके डोल्पाका मगरले बोल्ने गरेको पनि उनले बताए।
यस्तै ढुँड भाषा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मगरले बोल्ने गरेका छन् भने खाम भाषा साविक राप्ती अञ्चलका मगर समुदायले बोल्ने गरेको उनको भनाइ छ।
उनले ढुँड भाषा पठनपाठन गराइरहेको उनले बताए। उनका अनुसार बर्खामा लगाइने अन्न बालीको बीउ माघ १ गते परीक्षण गर्ने चलन छ। उनले भने, ‘बर्खामा हामीले जति पनि अन्न बाली रोप्ने गरेका छौँ। त्यसको परीक्षण माघ १ गते गर्छौँ। पुस महिनाको अन्तिममा ती अन्नबाली बीउ परीक्षणका लागि रोप्छौँ। कसैले ७ दिन त कसैले ९ दिनसम्म रोप्छौँ। त्यो उम्रिएको बिउ गाउँलेलाई बोलाएर देखाउँछौँ।’
यस्तै रोपेको ठाउँमा आएर देख्नेले सत्य देख्ने र नगएकाहरूलाई देखाउन कानमा जमरा लगाएर पठाउने चलन रहेको उनले बताए।
नगर कमिटी सदस्य माया पुनले पनि पछिल्लो समय प्रविधिको विकास भएसँगै संस्कृति हराउँदै गइरहेकोमा चिन्ता व्यक्त गरिन्। उनले भनिन्, ‘हामीले हाम्रा सन्तानलाई आफ्नो संस्कृतिका बारेमा सिकाउँदै आएका छौँ। पछिल्लो समय बाहिरी देखासिकी वा प्रविधि बढेसँगै समस्या भएको छ। कतै हाम्रो मौलिक संस्कृति हराउने हो कि भन्ने चिन्ता लाग्छ।’ मौलिक संस्कृति बचाउन आफूहरू लागिपरेको उनको भनाइ छ।