Aamsanchar

नेपालमा हाल सम्म अधिकतम तापक्रम ४६.४ र न्यनतम तापक्रम १७.५ डिग्री सेल्सियस मापन  

Author Image
मङ्गलवार, माघ २, २०८०

काठमाडौं । काठमाडौंमा हालसम्मकै न्यून तापक्रम १९७८ मा मापन गरिएको थियो । सन् १९७८ जनवरी ११ मा काठमाडौंको तापक्रम माइनस ३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।

“१९७८ यता काठमाडौंको तापक्रम माइनस ३.५ भन्दा कम गएको तथ्यांक छैन,” मौसमविद् सुदर्शन हुमागाईं भन्छन्, “काठमाडौंका लागि त्यो सबैभन्दा चिसो वर्ष थियो ।” तर माइनसमा भने धेरै पटक गएको तथ्यांक जल तथा मौसम विज्ञान विभागसँग छ ।

१९९८ जनवरी २० मा काठमाडौं उपत्यकाको तापक्रम माइनस ३ डिग्री सेल्सियस मापन भएको थियो । २००० को जनवरी १६ मा पनि काठमाडौं उपत्यकाको तापक्रम माइनस ३ डिग्री सेल्यिस थियो ।“१९७७, १९७८, १९८४ मा काठमाडौंमा माइनस २.६, माइनस २.४ तापक्रम थियो । काठमाडौंमा माइनसमा तापक्रम थुप्रै पटक गएको तथ्यांक छ,” मौसमविद् हुमागाईं भन्छन् ।

१९९७ डिसेम्बर २९ मा सिमकोटमा माइनस १७.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । यो नेपालमा तापक्रमको रेकर्ड राख्न थालेयताकै सबैभन्दा कम तापक्रम हो । “यो तथ्यांक हाम्रो रेकर्डमा छ । तर यसलाई पुनः एकपटक हाम्रा छुट्टाछुट्टै स्टेसनमा गएर भेरिफाइ गर्नुपर्छ भन्ने लाग्छ,” उनी भन्छन् ।

मनाङको हुम्देमा सन् २०१७ माइनस १६.५ डिग्री सेल्यिस तापक्रम मापन भएको थियो । सन् २००० जनवरी १७ मा जुम्लाको तापक्रम माइनस १२.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

“यो भन्दा कम तापक्रम पनि नेपालमा हुन्छ । तर तीन हजार मिटरभन्दा माथि हामीसँग तापक्रम मापन गर्ने यन्त्र छैनन्,” मौसमविद् हुमागाईं भन्छन्, “सरकारी स्रोतसाधनको अभावका कारण तीन हजारभन्दा माथि तापक्रम मापन केन्द्र हामीले राख्न सकेका छैनौँ ।” मानवबस्तीभन्दा धेरै टाढा मापन केन्द्र राख्दा नियमित अनुगमन जान समस्या हुने विभागले जनाएको छ । सरकारी नियमअनुसार एक हप्ताभन्दा धेरै फिल्ड अनुगमनमा जान नपाइने नियमले तीन हजारभन्दा माथि तापक्रम मापन केन्द्र राख्न सम्भव नरहेको विभागको भनाइ छ ।

यसैबीच, सन् २०२३ जस्तै यो वर्ष पनि हालसम्मको तातो वर्षमध्येको एक हुने मौसमविद् हुमागाईं बताउँछन् । त्यसैले अहिलेसम्मको रेकर्ड उछिन्नेगरी यो वर्ष चिसो नहुने उनको दाबी छ । “पछिल्लो दुई वर्षका हिउँद सरदरमा साढे एकदेखि २ डिग्री सेल्सियससम्म तातो छ,” उनले भने ।

नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ को जुन ५ मा धनगढीको तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता त्यति धेरै तापक्रम नेपालमा मापन भएको तथ्यांक छैन ।

सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।  श्रोत : १२खरी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर