Aamsanchar

झापाका कतिपय विद्यालयहरूले कानुन उल्लंघन गरेको भन्दै स्टेसनरी व्यवसायी संघ द्वारा ज्ञापन पत्र

Author Image
सोमवार, माघ ८, २०८०

बिर्तामोड । विद्यालय एउटा सेवामूलक संस्था हो । विद्यालयमा नियमित रूपमा पठनपाठन सञ्चालन गरी विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग गर्नु सबै विद्यालयको प्रमुख कर्तव्य र दायित्व हो । तर, यी र यस्ता दायित्वलाई भुलेर विद्यालय हाताबाट कानुनको उल्लंघन गर्दै शैक्षिक सामग्रीको खुलेआम बिक्री बितरण भइरहेको छ ।
विद्यालय हाताबाट व्यावसायिक रूपमा कुनै पनि शैक्षिक सामग्री बिक्री वितरण गर्न नहुने कानुनी व्यवस्था छ । सो व्यवस्था अन्तर्गत शिक्षा नियमावली २०५९ को नियम ३७ मा प्रष्ट भनिएको छ, ‘विद्यालय हातामा कुनै पनि शैक्षिक सामग्री बिक्री वितरण गर्न पाइन्न ।’
तर, झापाका कतिपय विद्यालयहरूले व्यावसायिक रुपमा विद्यालय हाताबाट शैक्षिक सामग्रीको खुलेआम बिक्री वितरण भइरहेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाका अध्यक्ष विनोद सापकोटाले बताए । उनले जिल्लाका ६ वटा स्थानीय तहका प्रमुख, शिक्षा अधिकारी लगायतलाई आइतबार ज्ञापन पत्र बुझाउँदै भने, ‘यस्तो अवैध बिक्री वितरणको नियमन गर्ने निकाय तीन तहको सरकारमा स्थानीय सरकार पनि हो । अब नियमन हुनु पर्यो ।’

संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधन सहित) परिच्छेद ४.४को ७ मा विद्यालयहरू आफैँले पाठ्यपुस्तक तथा स्टेसनरी बिक्री वितरण गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोसाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउने भन्ने व्यवस्था छ । यति हुँदाहुँदै पनि झापाका संस्थागत विद्यालयमा खुलेआम शैक्षिक सामग्रीको बिक्री वितरण भइरहेको अध्यक्ष सापकोटाले आरोप लगाए ।

विद्यालयमा नियमित अनुगमन र नियमन हुन नसक्दा यस्ता कानुन विपरीतका गतिविधि विद्यालय हातामा भइरहनु दुःखदायी विषय भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाले जनाएको छ ।
विद्यालय हाताभित्र शैक्षिक सामग्री नेपाल सरकारले उपलब्ध गराउने जनक शिक्षा सामग्री केन्द्र बाहेकका जस्तै  निजी प्रकाशनका पाठ्यपुस्तक, पेन्सिल, कापी, इरेजर, साफनर, कटर, प्रश्नोत्तर, म्यानुअल।, चक, डस्टर, मार्कर, मसी, उत्तरपुस्तिका, लगायतका वस्तुको खरिद बिक्री नगर्न नगराउनका लागि आफ्ना पालिकाका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई परिपत्र गरिदिन नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले माग गरेको छ । ‘पालिकाका सबै विद्यालयलाई परिपत्र गरी त्यसको प्रत्यक्ष अनुगमन र नियमन गरिदिनुहुन समेत माग गर्दछौँ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
ज्ञापन पत्र बुझ्दै गौरीगञ्ज गाउँपालिकाकी प्रमुख फुलवती राजवंशीले व्यवसायीका माग जायज भएको बताइन् । उनले गौरीगञ्ज गाउपालिका भित्र कुनै पनि विद्यालयले विद्यार्थी तथा अभिभावकहरूलाई विद्यालयबाट नै पाठ्यपुस्तक स्टेसनरी तथा पोशाक खरिद गर्न बाध्य पारिए कारवाही गरिने बताइन् । उनले विद्यालय प्रशासन, शिक्षक लगायत कर्मचारीले विद्यालय हातामा शैक्षिक सामाग्रीको बिक्री बितरण नगर्न पालिकाका विद्यालयलाई अनुरोध गरिन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले विद्यालयलाई परिपत्र गरि त्यसको अनुगमन गरिने बताए । उनले व्यवसायीको गुनासो जायज भएको पनि बताए ।

व्यवसायीले कमल गाउँपालिकाका शिक्षा अधिकारी सूर्यप्रसाद न्यौपाने, दमकका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्की, गौरादहका शिक्षा अधिकारी विदुर आचार्य, शिवसताक्षीका शिक्षा अधिकारी छवि ढकाल र कनकाई नगरका शिक्षा शाखाका अधिकृत मेदनी प्रसाद पाठकलाई ज्ञापन पत्र बुझाएका थिए । उनीहरूले पालिकाले विद्यालयलाई पाठ्यपुस्तकको बिक्री बितरण व्यवसायीले नै गर्ने भन्दै विद्यालय हाताबाट पाठ्य सामग्रीको बिक्री बितरण नगर्न विद्यालयलाई परिपत्र गरिने बताए ।

व्यवसायीले विद्यालय हातामा शैक्षिक सामग्रीको बिक्री बितरण गरेको अनुगमनका क्रममा पाइएमा ति शैक्षिक सामाग्रीको जफत गर्नपनि माग गरेका छन् । ज्ञापन पत्र बुझाउन महासङ्घका सचिव चन्द्रमणि घिमिरे, ५ नम्बर इकाई प्रमुख मनकुमार चौलागाईँ, जिल्ला सदस्य रोशन श्रेष्ठ, ५ नम्बर इकाई सचिव खेमराज श्रेष्ठ, सदस्य सोमप्रसाद अधिकारी, रूपक श्रेष्ठ लगायतको सहभागिता थियो ।
बाँकी रहेका पालिकामा सोमबार ज्ञापन पत्र बुझाउने महासङ्घको कार्यक्रम छ ।

व्यवसायीले जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, १५ वटै पालिकाका प्रशासन शाखा, प्याब्सन झापा, एन प्याब्सन झापामा ज्ञापन पत्रको बोधार्थ दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)