Aamsanchar

शटर बन्द गरेर व्यवसायीद्वारा विरोध

Author Image
मङ्गलवार, माघ ९, २०८०

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले न्युरोड क्षेत्रमा गाडी पार्किङ गर्न नदिएपछि व्यवसायीहरूले शटर बन्द गरेर विरोध जनाएका छन् ।

महानगरले आज बिहानदेखि न्युरोडको कालोपत्र सडकमा पार्किङ गर्न निषेध गरेको थियो । यसकै विरोधमा काठमाण्डौ महानगरपालिकाको वडा नम्बर २२,२३ र २४ का व्यवसायीहरूले शटर बन्द गरेर आन्दोलन थालेका हुन् ।

महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको छ । महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाण्डौ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ । काठमाण्डौ टावरमा ३ सय वटा चार पाङ्ग्रे र ७ सय वडा दुई पाङ्ग्रे गाडी पार्किङ गर्न सकिने महानगरले जनाएको छ ।

व्यवसायीहरू भने यो पार्किङ क्षेत्र उपयुक्त नभएको बताउँछन् । ताम्राकार मोबाइल व्यापार सङ्घका अध्यक्ष गुरुदत्त शर्माले कोरोना महामारीलगायतका कारण व्यवसायबाट पलायन हुन थालेका व्यवसायीहरूलाई हतोत्साही बनाएर महानगरले न्युरोड क्षेत्रमा पार्किङ बन्द गर्ने निर्णय गरेको आरोप लगाउनुभयो । उहाँले नेपालको व्यापारको केन्द्र न्युरोड क्षेत्रमा पार्किङ बन्द गर्दा व्यापार शून्यमा झर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

अध्यक्ष शर्माले महानगरले गरेको निर्णयको विरुद्धमा पसलहरू बन्द गरेर विरोध जनाएको उल्लेख गर्नुभयो । उहाँले पार्किङ बन्द गरेर समस्याको समाधान नहुने भन्दै महानगर यसको विकल्पमा जानुपर्ने बताउनुभयो । भोलिदेखि २२,२३ र २४ नम्बरका सबै व्यवसायीहरूले शटर बन्द गरेर महानगरलाई चाबी बुझाउने उहाँको भनाइ छ ।

ताम्राकार मोबाइल व्यापार सङ्घका संस्थापक अध्यक्ष जगत साउदले पनि न्युरोड देशभरकै व्यापारको केन्द्र भएकाले यो क्षेत्रमा पार्किङ बन्द गर्दा ठूलो नोक्सानी हुने बताउनुभयो । महानगरले अहिले तोकेको पार्किङ क्षेत्र पर्याप्त नभएको भन्दै विकल्प दिन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर