Aamsanchar

बिर्तामोडका २० वटा विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई पोशाक (कपडा) वितरण सुरु 

Author Image
बिहिवार, माघ २५, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीलाई पोशाक वितरण सुरु गरेको छ ।

नगरका १८ वटा सामुदायिक र २ वटा धार्मिक गरि २० वटा विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीको लागि निशुल्क विद्यालय पोशाक वितरण कार्य आजदेखि सुरु गरिएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाअध्यक्ष दुर्योधन गुरुङ, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, अधिकृत केशर खवास लगायतको टोलीले पहिलो दिन वडा नम्बर १० को चमरधाप आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, लक्ष्मीनारायण आधारभूत विद्यालय र महेन्द्र ज्योति माध्यमिक विद्यालयमा पुगेर पोशाक वितरण गरेको छ।

नगर प्रमुख सहितको टोलीले विद्यालयमा पुगेर त्यहाँको वर्तमान अवस्था बुझ्नुका साथै पोशाक वितरणलाई अघि बढाएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्कुल ड्रेसले विद्यार्थीहरुमा एकरुपता आउने भएकाले पढ्नको लागि सहज वातावरण निर्माण हुने बताउनु भयो । उहाँले बिर्तामोडको जनसंख्या बढ्दै गएकोले ग्रामिण क्षेत्रको विद्यालयहरुलाई व्यवस्थित बनाउँदै लैजानु पर्ने र यसका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक जुट्नु पर्नेमा जोड दिनुभयो ।

यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले विद्यार्थीहरुको सरसफाई तथा समयलाई ख्याल गर्न शिक्षक र अभिभावकलाई सुझाव दिनु भयो ।

यस्तै वडाअध्यक्ष दुर्योधन गुरुङले विद्यालयमा राजनीति गर्न नहुने बताउनु भयो । उहाँले शिक्षक तथा व्यवस्थापन समितिलाई विद्यार्थीको पठनपाठनमा ध्यान दिन आग्रह गर्नु भयो ।

विद्यालय व्यवस्थापन समितिसमेतलाई उपस्थित गराएर पोशाक वितरण गरिएको छ । नगरपालिकाले हरेक वर्ष यस प्रकारको पोशाक वितरण कार्य गर्दै आएको छ । यस वर्ष ३ हजार ७ सय १६ जना विद्यार्थीलाई वितरण गर्ने योजना रहेको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)