Aamsanchar

अर्जुनधारामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

Author Image
मङ्गलवार, फागुन १, २०८०

झापा । १४ औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिता झापाको अर्जुनधारा नगरपालिकामा हुने भएको छ ।

यही फागुन ५ गते अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा प्रतियोगिताको उद्घाटनसँगै ७ गतेसम्म शनिश्चरे माविलगायत अर्जुनधारा कै विभिन्न विद्यालयका मैदानमा प्रतियोगिता सञ्चालन गर्ने गरी तयारी गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ ले जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहमा यसअघि छनोट प्रतियोगिता सम्पन्न भइसकेको र ती प्रतियोगिताबाट छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

जिल्लाको खेलकुद गतिविधिलाई जिल्लाका सबै क्षेत्रमा पुर्याउने र स्थानीय तह हरुलाई पनि खेलकुदप्रति अपनत्व र जिम्मेवार बनाउने उद्देश्यले पनि यस वर्षको प्रतियोगिता अर्जुनधारा नगरपालिकामा गर्न लागिएको अध्यक्ष भण्डारीको भनाइ छ । खेलकुद गतिविधिमा सधैं अग्रपङ्क्तिमा रहँदै आएको अर्जुनधारा नगरपालिका १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको च्याम्पियन पालिका पनि हो ।

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरू सञ्चालन गरिने प्रतियोगितामा ४१८ पदकका लागि जिल्लाभरिका १८ वर्षमुनिका पुरुष तथा महिला गरी लगभग एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्दै सफल तुल्याउनका लागि हालै सम्पन्न समितिको बैठकले समितिका पदाधिकारी तथा समितिमातहतका प्राविधिक–प्रशिक्षकहरूलाई जिम्मेवारी बाँडफाँड गरेको समितिका सदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा सरोकारवाला सबै क्षेत्रको प्रतिनिधित्व रहने गरी मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै, कार्यालय सचिव नेम्बाङको संयोजकत्वमा उपाध्यक्ष गंगा भुर्तेल र सदस्य जगन कार्की सदस्य रहेको आर्थिक उपसमिति, सदस्य जगन कार्कीको संयोजकत्वमा डम्बर सुब्बा र अर्जुनधारा नगर स्वास्थ्य शाखा प्रमुख सदस्य रहेको प्राथमिक उपचार समिति, सदस्य चेतामणि खनालको संयोजकत्वमा डम्बर यादव, मिलनराज प्रसाईं, बाबुलाल सुब्बा, लोकप्रसाद ओली, लेखनाथ पराजुली र रतिया राजवंशी सदस्य रहेको विवाद समाधान उपसमिति, चेतामणि खनालकै संयोजकत्वमा अभिलेख व्यवस्थापन उपसमिति गठन भएको छ भने खेलहरूलाई व्यवस्थित गर्ने गरी एथलेटिक्सतर्फ महेश सरकारको संयोजकत्वमा गोपाल यादव र ईश्वरी दाहाल सदस्य रहेको उपसमिति, भलिबलतर्फ पूर्णिमा सिटौलाको संयोजकत्वमा हेमा थापा र रोशन दाहाल सदस्य रहेको उपसमिति, कबड्डीतर्फ शमशेर मोक्तानको संयोजकत्वमा उपसमिति, करातेतर्फ जगन कार्की ९दुर्वासा० को संयोजकत्वमा सञ्जय साह र मिना पाठक सदस्य रहेको उपसमिति, तेक्वान्दोतर्फ गंगा भुर्तेलको संयोजकत्वमा हरि भुजेल र जितेन मेचे सदस्य रहेको उपसमिति, उसुतर्फ सुरेन्द्र गिरीको संयोजकत्वमा घनश्याम गुरुङ र रविन श्रेष्ठ सदस्य रहेको उपसमिति गठन गरिएको छ ।

प्रतियोगिताका लागि प्राविधिक प्रमुख वरिष्ठ प्रशिक्षक कालु मेचेको नेतृत्वमा एक सय बढी प्रशिक्षक तथा अफिसियल प्राविधिक परिचालन हुने जिल्ला खेलकुद विकास समितिका सदस्य चेतामणि खनालले जानकारी दिए ।

जिल्लामा छनोट हुने खेलाडीले कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा झापाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अध्यक्ष भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर