Aamsanchar

डोमालालको परिवारलाई उपेक्षा गरेको गुनासो, झापा गोल्डकप र बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण

Author Image
बुधवार, फागुन ९, २०८०


झापा । जग्गादाता डोमालाल राजवंशीको परिवारलाई उपेक्षा गरिएको भन्दै दाता परिवार र राजवंशी समुदायले झापा गोल्डकप र बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । झापा गोल्डकपको सचिवालयमा पुगेर उनीहरुले चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

जग्गादाता डोमालाल राजवंशीको शालिक निर्माण गरिनु पर्ने, डोमालाल राजवंशीले दिएको जग्गामा करोडौको बजेटमा प्रतियोगिता गराइरहँदा दाता परिवारको हालको अबस्थालाई मनन गरी यसै गोल्डकपमा कम्तीमा ५ लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने, डोमालाल राजवंशी रंगशालासंग सम्बन्धित गोल्डकप आयोजक समिति,संरक्षण समितिलगायतका समितिहरुमा दाता परिवारका एकजना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने र डोमालालको परिवारले चर्चेको जग्गा उनीहरुकै स्वामित्वमा हस्तान्तरण गरिनु पर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

दाता परिवारका तर्फबाट डोमालालकी छोरी ८० वर्षीया सम्पत्ति राजवंशी , नातिनी बुहारी ललिता राजवंशी , राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , उपाध्यक्ष रुपा राजवंशी , सचिव इन्द्रसिंह राजवंशी , सहसचिव अन्जु राजवंशी , राजवंशी विकास समिति बिर्तामोडका अध्यक्ष सिरतलाल राजवंशी , सचिव बालकृष्ण राजवंशीलगायतले सो ज्ञापनपत्र झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र महासचिव गजेन्द्र पोडेललाई बुझाएका थिए । ती मागहरुप्रति आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिँदै अध्यक्ष बस्नेतले डोमालालको शालिक निर्माण गर्नका लागि चित्र कोर्ने काम भएको  बताए ।

त्यस्तै गोल्डकपबाट डोमालालको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएकोमा बचत भएमा त्यसलाई थपेर एक लाखसम्म सहयोग गर्ने आश्वासन दिए । त्यस्तै डोमालाल राजवंशी रंगशालासंग सम्बन्धित गोल्डकप आयोजक समिति,संरक्षण समितिलगायतका समितिहरुमा दाता परिवारका एकजना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने मागप्रति पनि आफूहरु सकारात्मक रहेको उनको भनाई थियो । सोही मागसहितको ज्ञापनपत्र बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई पनि बुझाइएको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए ।

राजवंशीका अनुसार नगर प्रमुख प्रसाईले ती मागका सम्बन्धमा कार्यपालिकाको बैठकमा छलफल गराउने आश्वासन दिएकी छन् । करिव १३ विगाह जग्गा दान दिएका डोमालाल राजवंशीको परिवारको अवस्था अहिले अत्यन्त नाजुक रहेको छ । डोमालाल राजवंशी रंगशालामा यही फागुन १९ देखि छेटौ झापा गोल्डकप हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर