Aamsanchar

पथरीशनिश्चरेको बाल कल्याण माविका विद्यार्थी र अभिभावक आन्दोलित

Author Image
बुधवार, फागुन ९, २०८०

विराटनगर  ।  मोरङको पथरी–शनिश्चरे नगरपालिका ७ किर्तिपुरमा रहेको बाल कल्याण माध्यामिक विद्यालय स्कुलका विद्यार्थी र अभिभावकले विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् ।

व्यवस्थापन समितिले पूर्णता नपाएको, स्कुल प्रशासनले समय तालिका अनुसार स्कुल नलगाएको, स्थानीय विषयमा पठनपाठन नगरेको, सेवामुखी स्कुल नभएको, राजनीतिकरण भएको, विद्यार्थीले कुटपिट गर्ने गरेको, निजी विद्यालयसँग विद्यार्थीको सौदाबाजी गरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले दिवा खाजामा पारदर्शिता हुनुपर्ने, शिक्षकहरूले पुरा समय अध्यापन गराउनु पर्ने लगायतका माग पनि राखेका छन् । प्रदर्शनका क्रममा उनीहरूले असक्षम शिक्षक प्रशासन चाहिँदैन, विद्यालयमा राजनीतिकरण बन्द गर जस्ता नाराबाजी समेत गरेका छन् ।

मङ्गलबारदेखि आफूहरूले विरोधका कार्यक्रम सुरु गरेको स्थानीय अभिभावक लेखनाथ लुइँटेलले बताए । ‘हामीले हाजिरी परीक्षण गर्दा शिक्षक र विद्यार्थीहरूको उपस्थिति नै भएन,’ त्यसपछि हामीले विरोधका कार्यक्रम सुरु गरेका हौं ।

आफूहरूले अभिभावक र विद्यालयका प्रधानाध्यापक रोहिणी घिमिरेसँग कुरा गर्दा पनि आफूहरूका मागबारे सुनवाई नभएको कारण विद्यार्थीसहित आन्दोलनमा जानुपरेको उनले बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गर्दा राजनीतिक भागबन्डा गर्न खोजेको पनि उनले आरोप लगाए । ‘विद्यालय लथालिङ्ग अवस्थामा छ । हिसाब किताब पारदर्शी छैन । यसको न्यायिक निकायबाट आवश्यक छानविन हुनुपर्छ,’ लुइँटेलले भने, ‘विद्यार्थीलाई दिवा खाजा पनि दिइएको छैन । विज्ञान र गणितको शिक्षक नियुक्ति पनि गरेको छैन । बिना शिक्षक विद्यालय कसरी चल्छ ? ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)