Aamsanchar

नेपाली महिला टोली कालापत्थरतर्फ प्रस्थान

Author Image
बिहिवार, फागुन १७, २०८०

काठमाण्डौ – जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ ।

जलवायु परिवर्तन तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था साथसाथैले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउने भएको हो ।

विभिन्न क्षेत्रमा अग्रणी भूमिकाका रहेका २५ जना महिलाको टोली आज बिहान काठमाण्डौबाट प्रस्थान गरेको हो । उनीहरुलाई यूएन वुमनका नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पचेकोले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा बिदाइ गर्नुभयो ।

जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा पारेको असर र हिमाली समुदायले सामना गर्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउन समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाको समूहले लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गर्न लागेको हो ।

८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने क्रममा कालापत्थरतर्फ गएको महिला टोलीले पर्सि स्याङ्बोचेमा ‘जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला सशक्तीकरण’ भन्ने नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तरक्रिया कार्यक्रम गर्ने छ ।

स्याङबोचेमा कार्यक्रमपछि पदयात्रा गर्दै ८ मार्चमा कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई हिमाल पग्लिँदा समुदायमा परेको असर, कृषि र पर्यटन क्षेत्रमा परेको मारलगायतका विषयमा ध्यानाकर्षण गराउने कार्यक्रम छ।

यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सोलुखुम्बुको स्याङवोचेमा पुगेर हिमाल पग्लिरहेको विषयप्रति विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । संयुक्त राष्ट्रसङ्घले ‘इन्भेस्ट इन वुमन स् एक्सलेरेट प्रोग्रेस’ अर्थात ‘गतिशील प्रगतिका लागि महिलामा लगानी’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस २०२४ मनाइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर