Aamsanchar

जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी चार महिनादेखि तलबभत्ता विहिन

Author Image
मङ्गलवार, फागुन २२, २०८०

कैलाली – कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएको बताएका हुन् ।

तलबभत्ता रोकिएपछि दैनिक जीवन चलाउन मुस्किल हुन थालेको उनीहरुको गुनासो छ । गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले समयमा तलब नआएपछि समस्या भएको बताउनुभयो ।सङ्घीय तहबाट पालिकामा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबभत्ता गाउँपालिकाले बजेटको अभाव देखाउँदै रोकिदिएको छ ।

सङ्घीय सरकारबाट आर्थिक वर्षको शुरुमै आउनुपर्ने पर्याप्त बजेट नआएपछि समस्या भएको गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले बताउनुभयो । गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका लागि वार्षिक तीन करोडभन्दा धेरै खर्च चाहिनेमा यसवर्ष एक करोड १४ लाख मात्रै आएको उहाँको भनाई छ ।

अन्य शीर्षकबाट पनि खर्च गर्न नपाइने भएपछि कार्यरत स्वास्थ्यकर्मीको चार महिनाको तलब रकम भुक्तानी गर्न नसकेको लेखा अधिकृत माझीको भनाइ छ । अहिले गाउँपालिकामा सङ्घीय तहबाट समायोजन भएर आएका ४९ स्वास्थ्यकर्मी कार्यरत छन् ।

करार तथा ज्यालादारीमा व्यवस्थापन गरिएका अन्य कर्मचारीले भने नियमित तलब भत्ता पाइरहेका छन् । स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले गाउँपालिकाबाट मन्त्रालयलाई ताकेता गरिरहेको जानकारी दिनुभयो । गएको वर्ष यस्तै समस्या भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा पनि देखिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर