Aamsanchar

पथरीशनिश्चरे किशोरी हत्या प्रकरण : एकजना पक्राउ

Author Image
मङ्गलवार, फागुन २२, २०८०

मोरङ। मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्यामा संलग्न रहेको आशंकामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार बारा घर भएका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही विषयमा थप भेरिफाई गर्ने क्रम जारी रहेको भन्दै प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या भएको हो। ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन्। ज्ञानमतिका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन्। २ वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेको डीएसपी दाहालले बताए। बुवा दानबहादुर राईको भने यसअघि नै निधन भइसकेको पाइएको छ।

दाहालका अनुसार सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजेतिर अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरेर बालिकाको विभत्स तरिकाले हत्या गरेको पाइएको छ। ‘पटक–पटक हतियार प्रहार गरेर निर्मम तरिकाले बालिकाको हत्या गरिएको छ। एकदमै विभत्स अवस्थामा घरको परिसरमा शव भेटिएको छ,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा पछाडिबाट हतियार प्रहार भएको देखिन्छ। घटनासँग सम्बन्धित थप कुरा अनुसन्धानपछि खुल्छ।’

हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव फेला परेको जानकारी दाहालले दिए।
‘घर परिसरमै रहेको शौचालय जाने क्रममा बालिकामाथि हतियार प्रहार भएको भनिएको छ। चिच्याएको आवाज आएपछि हेर्दा बहिनीको ढुकढुकी मात्रै थियो भनेर दाजु विनोदले भनेका छन्,’ उनले भने, ‘दाजुले घटना थाहा पाएको केहीबेरमै उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उपचारका लागि अस्पतालसमेत लैजान भ्याएनछन्।’ घटना हुँदा दाजु–भाउजू भने सुतिसकेको पाइएको उनको भनाइ छ।

प्रहरीका अनुसार घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन। घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ।

‘हत्या कसले र किन गरेको हो भन्ने खुलिसकेको छैन। हत्यामा संलग्नको खोजी तीव्र पारिएको छ,’ उनले भने, ‘मिहीन ढंगले विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ। कुनै चिनजानकै व्यक्तिले घटना गराएको हो कि भन्ने आशंका छ।’ प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ।

डीएसपी दाहालले पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुने उल्लेख गरे। उनका अनुसार घटनास्थलबाट संकलन गरिएको सबुत प्रमाणलगायतलाई केलाएर अनुसन्धान अघि बढाउँदै हत्यामा संलग्नको खोजीमा प्रहरी जुटेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर