Aamsanchar

धुलाबारीको इष्ट होराइजनका विद्यार्थीले हाट बजार लगाउने 

Author Image
बिहिवार, फागुन २४, २०८०

धुलाबारी । झापा मेचीनगर १० धुलाबारीमा रहेको इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयमा वसन्त उत्सव आयोजना हुने भएको छ ।

नयाँ पुस्तालाई पुरानो हाट बजार, मेला र संस्कृति सँग जोडनको लागि, विद्यार्थीहरूलाई विद्यालय स्तरबाट नै सरल तरिकाले उद्यमशील, व्यावहारिक र सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।

अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको इष्ट होराइजनमा अतिरिक्त क्रियाकलापका विभिन्न २२ वटा विद्याहरू वसन्त महोत्सवका आर्कषण रहने विद्यालयका संस्थापक अध्यक्ष सञ्जीव राईले जानकारी दिए ।

‘हाम्रो सांस्कृतिक सिद्धान्तहरूको पुनरावलोकन’ भन्ने नाराका साथ विद्यालय प्राङ्गणमा आयोजना हुने उत्सव फागुन २६ र २७ गते सञ्चालन हुने छ ।

विद्यार्थीहरूको आयोजना र इष्ट होराइजन को संयोजनमा आयोजना हुने उत्सवमा विद्यार्थीहरूले स्कुलमा सिकेका सीपहरू सिलाई बुनाई, लाइभ पेन्टिङ, कुलिनरी आट्स, फोटोग्राफी, लाइभ म्युजिक एण्ड डान्स, ड्रामा, गार्डेनिङ, इलेक्ट्रिक क्लब, पम्बीङ, दुनाटपरा, ब्युटिसियन, करातेलगायत विधवाहरू प्रर्दशनी हुने त्यसैगरी कार्यक्रममा पाँच दशक पुराना गीतहरू मात्र बजाइने र तिनै गीतमा विद्यार्थीहरूले नृत्य गर्ने कार्यक्रमका परिकल्पनाकार छितेन शेर्पाले जानकारी दिए । 

विद्यार्थीहरूलाई अध्ययनसँगै उनीहरू भित्रको अतिरिक्त प्रतिभा प्रष्फुटन गर्ने कार्यमा झापा जिल्लामै अग्रस्थानमा रहेको इष्ट होराइजनमा पहिलो पटक हाट बजार आयोजना गरिने भएको हो ।

विगत ३० वर्ष अगाडिको सामाजिक रहनसहन, एकआपसको भेटघाट र हिजोको पुस्ताले भोगेको भोगाइहरूलाई अहिलेको पुस्तालाई देखाएर विद्यार्थीहरूलाई पारिवारिक, सामाजिक, राष्ट्रिय र अन्तराष्ट्रिय ज्ञान प्रदान गर्न वसन्त महोत्सवले सहयोग पुग्ने विद्यालय व्यवस्थापन पक्षको ठहर छ ।

उत्सवमा विद्यार्थीहरूले सिकेका खाना पकाउने तरिकाबाट तयार पारिएका परिकार, मनोरञ्जनका साधनहरू प्रर्दशनी र बिक्री गरिने, बिक्री भएर प्राप्त हुने रकम विद्यालय व्यवस्थापनले नराखी विद्यार्थीहरूको क्लबहरूमा जम्मा गरिने  शिक्षक महेश खड्काले जानकारी दिए । 

इष्ट होराइजले यस वर्ष देखि कक्षा नर्सरी देखि दुई सम्मका विद्यार्थीहरूलाई बुक लेस बनाउने भएको छ । विद्यार्थीहरूको उमेर समूह अनुसारको शिक्षा मात्र आवश्यक पर्ने हुँदा विभिन्न पब्लिकेसनले अनावश्यक पृष्ठ राखेर मोटा र भारी किताबहरू बनाएका कारण तिनै किताबहरू साना विद्यार्थीहरूको लागि बोझिलो हुने गरेकाले अव होमवर्क होइन परियोजनामा आधारित सिकास अभ्यास गरिनु पर्ने र यस प्रकारको सिकाइ अभ्यास विकसित मुलुकहरूमा हुँदै आएकोले वैज्ञानिक सिद्धान्त अनुसार क्रमश सबै कक्षाहरूलाई बुक लेस बनाउने विद्यालयको योजना रहेको शिक्षक विकास ग्वालाले बताए । 

पत्रकार भेटघाट कार्यक्रममा विद्यालयकी छात्रा स्नेहा गिरीले भनिन ‘विद्यालयले पुरातन पठनपाठनको पद्धति भन्दा अलि फरक ढंगले हामीलाई शिक्षा दिदै आएको छ । अतिरिक्त क्रियाकलाप माध्यमबाट शिक्षा आर्जन गर्न पाउँदा सिकाई लाई व्यवहारमा उतार्न सजिलो भएको छ । यसका लागि विद्यालय पक्षले खेलेको भूमिका उदाहरणीय रहेको छ । कहिले हामी आफै तरकारी खेती गर्दछौँ र उत्पादन भएको तरकारी हाट बजारमा लगेर बेच्ने गरेका छौं । विषयगत समूहका विद्यार्थीहरूले सिकेको हाउस वाइरिङ सीप आफ्नो घर र सामाजिक क्षेत्रमा प्रयोग गर्न सकेका छन । केही दिन अगाडि मेचीनगरका एक जना अपाङगता दम्पतीको घर सरकार समुदायले बनाई दिएको थियो तर वाइरिङको काम गरिएको थिएन हामी विद्यार्थीले उक्त घरको वाइरिङ गरिदिएका छौं ।त्यो कामले हामीलाई सामाजिक कार्य गर्न सिकाएको छ । समुदाय प्रतिको उत्तरदायित्व के हो भन्ने बुझाएको छ ।’ 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)