Aamsanchar

शिवको अर्थ

Author Image
शुक्रवार, फागुन २५, २०८०


आजको दिन शिवको वरिपरि घुमेको छ, शिव ती भगवान् जसको आकार छैन, जसलाई आदि र अन्तले विभाजन गर्न सक्दैन, जसको रिसको विध्वंसले संसारका सम्पूर्ण अवयवहरूलाई छिन्नभिन्न गरिदिन सक्छ, ती शिवको विशेष अनि प्रिय दिन हो आज ।

शिव अर्थात् त्यो तत्त्व जुन छ पनि र छैन पनि, आजको आधुनिक विज्ञानले सम्पूर्ण कुराहरू जुन श्रोतबाट आउँछ त्यसैमा विलीन हुन्छन् भनी अणु अनि परमाणु अवयवहरूको प्रमाण खोजिरहँदा भएर पनि नभएका यी भगवान् शिवको अस्तित्वले संसार अनि सृष्टिलाई एउटा दृष्टान्त दिईनै रहेको छ । विज्ञानले धेरै अध्यनपछी संसारका हरेक कुराहरू अनि जीवहरू ब्रह्माण्डका तत्त्वरूपी शक्तिबाट बन्ने र तिनैमा विलीन हुने निष्कर्षमा पुगेको छ, यस ब्रह्माण्डका एउटा शक्तिका अनेक स्वरूपहरूमा हावा, पानी, आगो, आकाश अनि माटो रहेको पञ्चतत्वका रुपमा व्याख्या गरिन्छ । यिनै तत्त्वहरूबाट हामी सबै निर्मित छौँ, ब्रह्माण्डका यी सम्पूर्ण स्वरूपको एउटै श्रोत भगवान् शिव हामी सामु अनेक स्वरूपमा छन् ।

यो हावा, सुख्खा यो फाल्गुनको महिनामा उडेका झरेका पातहरू, पलाएका पालुवादेखि छरिएको विजले माटोमा अङ्कुरण गर्ने स्वरूपसम्ममा त्यो निराकार शिवतत्वको उपस्थिति छ । धर्म अनुसार नाम फरक होला, व्याख्या फरक होला तर शिवतत्वका सृजनाका रुपमा हामी रहेका छौँ । के बालक के वृद्ध अनि के वयस्क रु आज नारी पुरुष, स्वदेशी विदेशी आदि सबैको घुँईचोले शिवालयहरू भरिएका हुन्छन्, हामी मध्य धेरैले शिवलाई गाँजा भाङ धतुरो आदि सेवन गर्ने एउटा अचम्मको भगवानपात्रका रूपमा अपव्याख्या या अल्पसङ्ख्या गरिरहेका हुन सक्छौँ तर शिवका यी सम्पूर्ण बानीभित्र सृष्टि अनि समाजको गहिराई लुकेको छ ।

शिव तिनै हुन् जसले विष पिएर नीलकण्ठ भएर गोसाईंकुण्ड पर्वतमा पुगे, शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असामयिक मृत्युको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर अश्रुका धारा बगाउँदै लामो समयसम्म ब्रह्माण्ड यात्रा गरेका थिए, त्यही यात्राका क्रममा गल्दै गएको सतीदेवीको शरीरका अङ्गहरू जहाँ जहाँ विसर्जन भए त्यहाँ त्यहाँ शक्ति पीठहरूको उत्पत्ति हुँदै गयो ।

आज तिनै शिवको विवाह वार्षिकी अनि साधकहरुका लागि भने आज शिव भगवान् पर्वतको रूप धारण गरेर अचल, अमर अनि अजर आशुतोष हुनुभएको दिन हो तसर्थ शिवरात्रिको रातलाई अचल अनि निर्भय रात्रीका रुपमा पनि लिइन्छ । योगी अनि साधकहरुका लागि शिव भगवान् नभईकन एउटा आदि गुरु हुन् जसले योग शिक्षा सप्तऋृषिहरुलाई औपचारिक अनि दस्तावेजका रुपमा हस्तान्तरण गरेका थिए, तिनै योग अनि अभ्यासहरू आज संसारभरि स्वास्थ्य रहन कालागि धेरैले अनुसरण गर्ने गर्दछन् । यी प्रात कालका नायक अनि आदिकालदेखिका आदि गुरु शिवप्रति समर्पित आजको दिनमा सबैको कल्याण होस् !
यस वर्ष त कोरोनाले थिलथिलो पारेको मानव सभ्यता र समाजलाई शिवतत्वको धेरै नै आवश्यकता छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर